बुटवल। कार्तिक १५ । तिहारका लागि चाहिने मखमली र सयपत्री फुल,माला,विमिरो, ओखर,चिउरीका पात लगायतका बस्तुको उचित मुल्य नपाएको गुनासो किसानहरुले गरेका छन ।
गाँउघरमा उत्पादित तिहारका लागि अत्यावश्यक सामाग्री र मसलाहरु विक्रिका लागि बुटवल ल्याएपनि बिचौलियाहरुको बिगबिगीका कारण सामानको न्युन मुल्य समेत नपाएको उनीहरुको गुनासो छ ।
थोक ब्यापारका नाममा केही ब्यक्तिहरुले तिहारका सामान बुटवलको हाटवजार झार्नासाथ खोसाखोस गरेर लैजाने तर भाउ छैन भन्दै रकम भने अत्यन्तै कम दिने गरेको उत्पादक किसानहरुको भनाई छ ।
पाल्पा,गुल्मी र स्याङजा तथा अर्घाखाँचीका गाँउगाउँबाट किसानले तिहारका लागि चाहिने विभिन्न फुलहरु तथा विमिरो,ओखर,चिउरीका पात लगायतका सामानहरु बिक्रिका लागि बुटवल बजार ल्याउने गर्छन । तर विचौलिया र सिमित ब्यापारिको एकाधिकारका कारण आफ्नो सामानको भाडा र लागत पाउन समेत हम्मेहम्मे पर्ने किसानहरुको भनाई छ ।
किसानले गाँउबाट ल्याएका ति सामाग्रि बुटवलमा जम्मा पारेर ब्यापारीले भने महंगो मुल्यमा स्थानीय वजारका अलावा भैरहवा, नारायणघाट, दाङ्ग, तथा काठमाडौ सम्म पुराउँछन ।
किसानबाट सस्तोमा किनेर महंगोमा ब्यापारीले बेच्ने हुँदा उपभोक्ताले भने सर(सामानको भाउ महंगो तिर्नुपर्ने बाध्यता हुन्छ ।