इतिहास बन्दैछ, बुटवल धागो कारखाना

केशव भण्डारी- बुटवल, कार्तिक १५ । कुनैबेला बुटवल धागो कारखाना भनेपछि बुटवलको मात्रै हैन, देशकै सान का रुपमा हेरिन्थ्यो । तर समय फेरिन बेर लागेन । बुटवलमा २०३९ सालमा स्थापना भएको नेपालकै महत्वपूर्ण बुटवल धागो कारखानाले आज कथा जस्तै भएको छ ।

२०४७ सालबाट उत्पादन सुरु गरेको बुटवलको धागो नेपाल मात्र हैन भारत सम्म पुग्थ्यो । तर राजनीतिक हस्तक्षेपले व्यवस्थापन विग्रदै गएपछि दलीय खिचातानी मात्रै भएन कर्मचारी वीच नै हानथाप हुन थाल्यो र पटक पटक बन्द हुदैँ खुल्ने क्रम शुरु भयो । अन्तत  २०६४ साल फागुनमा बन्द भएको उद्योग खुल्नै नसक्ने गरी थला पर्यो ।

करोडौँ मूल्यपर्ने महत्वपूर्ण उपकरणहरु कामै नलाग्ने गरी खिया लागे भने काम लाग्ने खालका उपकरण पनि संरक्षण हुन छाड्यो । उद्योग बन्द भएको ९ बर्षसम्म कसैले चासो नदिदा बुटवल धागो कारखाना इतिहास बन्दै गएको छ । सात सय भन्दा बढी कर्मचारीको बहिर्गमन पछि मुल गेटमा अहिले पनि बुटवल धागो कारखाना लेखेको वोर्ड छ तर बिल्डिङ्गमा दंगा नियन्त्रण प्रहरी गण बस्दै आएको छ । बन्द उद्योगमा हाल मात्र ८ जना कर्मचारी पनि छन् । तर उनीहरुको काम हाजिर गरेर दिन बिताउनु मात्रै बनेको छ ।

बुटवल धागो कारखानाका निमित्त प्रमुख डोलराज शर्माका अनुसार उद्योगलाई चाहिँदा छाड्ने गरि दङ्गा नियन्त्रण प्रहरी गण बसेको पनि उद्योग खुल्ने योजना बनी सकेको छैन । उद्योगको नाममा १ अर्व भन्दा बढी सरकारी ऋण छ । बुटवल धागो कारखाना बन्द भएपछि आसपासमा कपास खेती समेत हुन छाडेको छ । कपडा उद्योग समेत प्रभावित भएका छन ।

बुटवल औद्योगिक क्षेत्रमा रहेको यो कारखानाले करिब १२ बिघा क्षेत्रफल ओगटेको छ । बुटवलका बासिन्दा र ब्यवसायीहरु समेत उद्योग पुन संचालनमा ल्याउनुपर्ने बताउँछन । कारखाना संचालन गर्न नीजि क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढेमा सम्भव भएको बुटवलका व्यवासायी नवराज श्रेष्ठ बताउनु हुन्छ ।

बुटवल धागो कारखानामा सरकारको ७९ प्रतिशत सहित ४ हजार ६ सय ३० जनाको शेयर छ । नीजि क्षेत्रको लगानी २१ प्रतिशत छ । त्यसैले सरकारी चासो सहित कारखाना चलाउन सकिन्छ तर राजनीतिक हस्तक्षेपबाट भने मुक्त राख्नुपर्छ । बुटवल धागो कारखाना खुलेमा सयौले रोजगारी पाउने छन, उद्योग कलकारखानालाइ चाहिने धागो प्राप्त हुनेछ र कपास खेति समेत फस्टाउने छ । यसले बुटवलको विकासमा मात्रै हैन देशको विकासमा समेत सहयोग पुग्नेछ । तर नेता र मन्त्रीहरु आश्वासन मात्रै दिन्छन, काम भने गर्दैनन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.