जानकी मन्दिरमा पुजा र पोखरामा सम्वोधन गरेर फर्किए मुखर्जी

कार्तिक १९, २०७३- भारतीय राष्ट्रपति प्रणव मुखर्जीले शुक्रबार प्राचीन मिथिलाको राजधानी जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् ।

राससका अनुसार सो मन्दिरमा भारतीय राष्ट्रपतिले पूजा गर्नेमध्ये उनी तेस्रो हुन् । यसअघि भारतीय राष्ट्रपति निलमसञ्जीवा रेड्डी र ज्ञानी जेल सिंहले जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए ।

मुगल ,हिन्दू र मैथिल वास्तुशैलीको अनुपम सङ्गमबाट बनेको सो मन्दिर वास्तु कलाकारिताको विलक्षण सम्पदा मानिन्छ । नौलखा, जानकी भवन, सीसमहल र नेपालको ताजमहल भनेर यो मन्दिर प्रख्यात छ ।

सो मन्दिरमा कलाकारको मीठो सपना बोलेको देखिन्छ । यो मन्दिर किल्ला आकारको छ र चारैतिर साना– ठूला गुम्बज र बुर्जाले घेरिएको छ ।

सो मन्दिर ४९ हजार ५५५ वर्गफिटमा फैलिएको र ५० फिट अग्लो छ । यसमा साठी कोठा छन् ।

मन्दिरको भव्य कलात्मक गर्भ भवन अत्यन्त आकर्षक रहेको छ, भने जगमोहन मन्दिरको चारैकुनामा तीन, तीनवटाका दरले बनाइएका १२ वटा कलात्मक बुर्जाका साथै अन्य साना– ठूला बुर्जा र गुम्बजमाथि रहेका सुनौला गजुर, फराकिलो परिसर तथा प्रवेशद्वारका दुबैतिर र माथि बनाइएका विभिन्न चित्रले मन्दिरको भव्यतालाई अझ बढाएको छ ।

मन्दिरको निर्माण भारतका ओरछा नरेश टिकमगढका महाराजा प्रतापसिंहकी पत्नी वृषभान कुँवरिले पुत्र प्राप्तिको खुसियालीमा विसं १९६७ माघ २८ मा निर्माण गराएकी थिइन् ।

मन्दिरको निर्माणमा त्यस बेलाको ब्रिटिस महारानीका चाँदीका सिक्का तीन –चारलाख खर्च भएको भनिए पनि मन्दिर बनाउन सुरूमा नौलाख सङ्कल्प गरिएको भनिन्छ । यो मन्दिर बनाउन जम्मा रु १५ लाख खर्च र बाह् वर्ष लागेको बताइन्छ ।

मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि बनाइएका पत्थरका सिंहका मूर्ति पनि आकर्षक रहेको छ । यस कलात्मक पत्थरमा कलात्मक ढङ्गबाट रोमनमा एसपी लेखिएको देखिन्छ ।

भारतीय राष्ट्रपति मुखर्जीले जानकी मन्दिरको गर्भगृहमा महात्मा सुरकिशोर दासद्वारा प्रतिष्ठापित स्वर्णमयी जानकीजी र भगवान रामका मूर्तिको शास्त्रसम्मत विधिले विशष पूजाअर्चना गरे ।

राष्ट्रपति मुखर्जीले सो मन्दिरमा रहेका प्राचीन मूर्तिको पनि पूजा गरे । यसअघि भारतीय राष्ट्रपति मुखर्जीलाई जानकी मन्दिरका महन्त रामतपेश्वर दासले वैदिक र मैथिल संस्कृति अनुसार स्वागत गरेका थिए ।

यसैगरी भारतीय राष्ट्रपति मुखर्जी बुद्ध एयरको चार्टर विमानस्थलबाट जनकपुरधाम आउँदा जनकपुर विमानस्थलमा उपप्रधान एवम् गुहमन्त्री विमलेन्द्र निधिले स्वागत गरेका थिए ।

भारतीय राष्ट्रपति मुखर्जी जनकपुर विमानस्थलबाट जानकी मन्दिर र जानकी मन्दिरबाट अभिनन्दनस्थल तिरहुतिया गाछी आउँदा सडक किनारमा उभिएका सर्वसाधारण नागरिक र विद्यार्थीले हात हल्लाएर स्वागत गरेको पनि राससले जनाएको छ ।

जानकी मन्दीरमा पुजा गरेपछि मुखर्जीलाई जनकपुर उपमहानगरपालिकाका तर्फबाट नागरिक अभिनन्दन पनि गरिएको थियो ।

जनकपुरको कार्यक्रम सकेर सिधै पोखरा पुग्नुभएका मुखर्जी पोखरा पुग्नुअघि विमानस्थलको केही पर आकाशमा बेलुनमा राखेर काला झण्डाहरु उडाइएको थियो । उक्त प्रकरणमा प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ ।

पोखराको कार्यक्रम सकेर काठमाडौ गइ भारतीय राष्ट्रपति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सिधै दिल्ली फर्कनुभएको थियो । मुखर्जीको भ्रमणका समयमा भएको सडकको सास्तीलाई ब्यङ्य गर्दै सामाजिक संजालमा भने लगातार विरोध भैरहेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.