एजेन्सीहरु
काठमाडौ । कार्तिक २४ । अमेरिकाको ४५ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन्। उनले डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका हुन्। ट्रम्पले राष्ट्रपति हुन आवश्यक २७० इलेक्टोरल कलेज बराबरको मत भन्दा बढी मत ल्याएर चुनाव जितेका हुन । क्लिनटनले आफ्नो पराजय स्वीकार गरेकी छन ।
पुर्व सर्वेक्षण र धेरैको अनुमान विपरित अर्वपति ब्यापारी ट्रम्प आश्चर्यजनक ढंगले राष्ट्रपति बनेका छन ।
ट्रम्पले बनाए इतिहास
गभर्नरको रुपमा कहिल्यै काम नगरेका व्यक्ति अमेरिकी राष्ट्रपति बन्ने इतिहास बनाएका ट्रम्प अमेरिकामा सबैभन्दा धेरै उमेरमा राष्ट्रपति बन्ने रेकर्ड समेत कायम राखेका छन ।
ट्रम्पका उतार चढाव
सन् २०१५ मा ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने निर्णय गर्दै अमेरिकालाई फेरि एकपटक महान् बनाऔँ। भन्ने नारा सहित अघि बढेका थिए ।
७० बर्षिय डोनाल्ड ट्रम्प रियल स्टेट ब्यवसायी फ्रेड ट्रम्पका छोरा हुन्। घरमा ट्रम्पलाई हतियारसँग फेलापरेपछि ट्रम्पलाई उनका पिताले न्युयोर्क मिलिटरी एकेडेमीमा भर्ना गरेका थिए तर नराम्रो व्यवहार गरेको भन्दै स्कुलले निकालेको थियो। त्यसपछि अमेरिकाको प्रख्यात वार्टन बिजनेस स्कुलमा पढेका ट्रम्पले व्यापारमा बाउलाई साथ दिन थालेका थिए।
खासगरी सन् १९७० मा घाटामा रहेको ग्राण्ड हायात होटललाई ७ करोड डलरमा किनेर मर्मत गरी चलाएपछि ट्रम्पको सम्पति चुलिन शुरु गरेको थियो ।
ट्रम्प टावर, ट्रम्प होटल र ट्रम्प प्यालेस लगायतका कम्पनीका मालिक डोनाल्ड आफु भने न्युयोर्कको ट्रम्प टावरमा बस्छन्। भारतको मुम्बईमा समेत ट्रम्पको टावर छ।
अमेरिकी निर्वाचन शुरु भएदेखि नै ट्रम्पमाथि सवै खनिन थालेका थिए । विपक्षी त के उनकै पार्टीका नेताहरुसमेत विपक्षमा थिए । मिडिया पनि उनको विपक्षमा थियो । कहिले आप्रवासीलाई खेद्ने त कहिले सिमानामा पर्खाल लगाउने जस्ता अभिब्यति दिने गरेका ट्रम्पमाथि पटकपटक यौन दुर्व्यवहारको आरोप समेत लाग्यो।
ट्रम्पको व्यक्तिगत जीवनमा तीन विवाह गरेका छन्। दुइ पत्नीसँग डिभोर्स भएपछि उनी अहिले तेस्री श्रीमती मिलिनिया नर्ससँग बस्छन ।