काठमाडौ । कार्तिक २७ । स्वास्थ्य मन्त्रालयको कार्यविधि र संसदको अर्थ समितिको निर्देशन लत्याउँदै सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई उपचार खर्च बापत ५० लाख दिने निर्णय गरेको छ ।
आइतवार बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्री बिमलेन्द्र निधिको ठाडो प्रस्तावमा पुर्वउपप्रधानमन्त्री समेत रहेकी कांग्रेस नेतृ कोइरालालाई ५० लाख दिने निर्णय गरेको हो ।
तर सरकारको उक्त निर्णय प्रति स्वास्थ्यमन्त्री गगन थापा भने असन्तुष्ट छन ।आइतवारको मन्त्रिपरिषद बैठकमा भने थापा थिएनन ।
स्वास्थ्यमन्त्री गगन थापाले ५० लाख उपचार खर्च दिने प्रस्ताव मन्त्रिपरिषदमा लैजान नमानेपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले गृहमन्त्रालय मार्फत उक्त प्रस्ताव लगेर पारित गराएको बताइएको छ ।
स्वास्थ्यमन्त्री थापाका सहयोगीहरुले मन्त्रिपरिषद बैठक शुरु नहुँदै सुजातालाई ५० लाख दिने निर्णय हुँदैछ भनेर सार्वजनिक गरेका थिए ।
आइतवारको मन्त्रिपरिषद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले सहयोग दिने निर्णय भएको बताउनुभयो ।तर पत्रकारले पटकपटक सोध्दा पनि सरकारका प्रवक्ता तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्की अर्थात राम कार्कीले भने छलफल समेत नभएको र कुनै निर्णय नगरिएको भनेर ढाँटे ।
बाहिर कतै कुरा भए होला तर सहयोग रकम दिने बारे कुनै छलफल भएन । दिने निर्णय पनि भएन– प्रवक्ता कार्कीको दावी थियो । स्वास्थ्य मन्त्रालयले पुर्व विशिष्टहरुलाई एक पटक मात्र बढीमा १५ लाख मात्र उपचार खर्च दिने कार्यविधि बनाएको छ । ब्यवस्थापिका संसदको अर्थ समितिले स्वदेशमा उपचार हुन नसक्ने अवस्थामा मात्रै सहयोग रकम दिने गरी उपचार खर्चका बिषयमा कार्यविधि बनाउन सरकारलाई निर्देशन दिएपछि स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाएको हो ।
सहयोग रकम दिनै परेपनि एकद्धार बाट अर्थात प्रधानमन्त्री कार्यालय तथा गृहमन्त्रालयबाट नभै स्वास्थ्य मन्त्रालयबाट मात्रै सहयोग रकम दिने ब्यवस्था मिलाउनुपर्ने भनेका छौ – अर्थसमितिका सभापति प्रकाश ज्वालाले भने ।
सुजाता कोइरालाले आफु स्तन क्यान्सरको विरामी भएको भन्दै उपचारका लागि सरकारसँग एक करोड माग्नुभएको थियो ।कोइराला आइतवार नै थप उपचारका लागि भन्दै सिंगापुर जानुभएको छ ।सुजाताले एक करोड मागेको विषयमा सामाजिक संजालहरुमा ब्यापक विरोध भएको छ ।