काठमाडौ । मंसिर २। अमेरिकाको न्युयोर्कका मेयर बिल डे ब्लासिओले नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पका भावी कदमलाई लिएर न्युयोर्कका जनता त्रसित भएको बताएका छन ।
नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई भेटेर मेयर ब्लासिओले आधिकारिक कागजातबिना बसेका आप्रवासीलाई देशनिकाला गर्ने कदमविरुद्ध आफू उभिने चेतावनी दिएको संचार माध्यमहरुले जनाएका छन ।
ट्रम्प टावरमा भएको भेटमा मेयर ब्लासिओले आप्रवासीकै सहरबाट आप्रवासीलाई निकाल्ने ट्रम्पको योजना कार्यान्वयन गर्न सम्भवै नभएको उल्लेख गरेका थिए।
न्युयोर्क लस एन्जलस, सान फ्रान्सिस्को, शिकागो, वोस्टन, फिलाडेल्फिया र वासिङ्टन डीसीका मेयरहरुले पनि आफ्ना आप्रवासी सहरबासीलाई देशनिकाला हुने नदिने प्रतिबद्धता जनाइसकेका छन् । ट्रम्पले आपराधिक पृष्ठभूमि भएका ३० लाख आप्रवासीलाई देशनिकाला गर्ने वा जेल हाल्ने बताउँदै आएका छन ।