काठमाडौं, २ मंसिर । महाअभियोग लागेका व्यक्तिको घर तथा कार्यालयमा छापा मार्न सक्ने गरि महाअभियोग सिफारिस समितिले आफ्नो कार्यविधि पारित गरेको छ ।
महाअभियोग सिफारिस समितिको बिहिवार बिहान बसेको बैठकले महाअभियोग लागेका व्यक्तिमाथि छानविनका क्रममा आवश्यकपरे ती ब्यक्तिको घर तथा कार्यालयमा छापा मार्न सक्ने कार्यविधि बनाएको हो । आरोपित ब्यक्तिलाई सफाईको मौका दिनका लागि सम्बन्धित व्यक्तिलाई बोलाएर बयान लिने, बकपत्र गराउने लगायत अधिकार समेत कार्यविधिमा छ ।
अख्यिार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव माथि छलफल भइरहेको छ ।
शुक्रवार पनि संसदमा कार्की माथिको अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ । संसद्को पूर्ण बैठकमा सैद्धान्तिक छलफल सकिएपछि कार्की विरुद्धको महाअभियोग प्रस्ताव महाअभियोग सिफारिस समितिमा जानेछ ।
समितिको कार्यविधि अनुसार अभियोग लागेका व्यक्तिलाई सात दिनको समय दिएर सनाखतका लागि बोलाइनेछ ।