काठमाडौ । मंसिर ३। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल तत्काल सकेर महाअभियोग पारित गर्ने प्रकृया अघि बढाउन माग गरेका छन । संसदमा छलफल मात्रै गर्नु कतै कार्कीलाई चोख्याउने खेल त हैन भन्ने प्रश्न गर्दै सांसदहरुले प्रस्ताव छिटो महाअभियोग सिफारिस समितिमा पठाउन पनि माग गरे । ब्यवस्थापिका संसदको शुक्रवारको बैठकमा सासंदहरुले महाअभियोग प्रस्तावमा छलफल मात्रै गरेर प्रकृयामा ढिलाई गरेकोमा असन्तुष्टि समेत जनाए । संसदको गरिमा र मर्यादा जोगाउन पनि कत्ति पनि विलम्व नगरी प्रस्ताव महाअभियोग समितिमा पठाउनुपर्ने उनीहरुको माग थियो  ।

संसद बैठकमा एमालेका सांसद अमृत कुमार बोहोराले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने प्रस्ताव दर्ता गर्दा नै गम्भिर आरोप अघि सारिएको बताउँदै अख्तियार प्रमुख कार्कीले सविधान र कानूनको अबमुल्यन गरेको स्पष्ट भएको दावी गर्नुभयो । उहाँले लम्व्याउनु भन्दा छिटो समितिमा पठाएर छानविन गरी टुंगोमा पुराउनुपर्ने बताउँदै कार्कीलाइ अख्तियारमा ल्याउँदा नै ठुलो भुल भएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका सासंद शिबकुमार मण्डलले अख्तियार प्रमुख कार्कीले आफुलाई राजा झै ठानेर सविधान भन्दा माथि बस्न खोजेको आरोप लगाउँदै कानूनको दायराभित्र सवैलाई ल्याउन महाअभियोग प्रस्ताव पारित गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले छिटो टुंगोमा पुराउन पनि माग गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले कानूनी राज्यको अवधारणा अनुरुप मुलुक चलाउन पनि महाअभियोग पारित गर्नुपर्नेमा जोडदिनुभयो ।

संसदमा किन यति लामो छलफल भएको हो भन्ने आफुले बुझ्न नसकेको भन्दै उहाँले संसदको गरिमा र मर्यादा जोगाउन पनि कत्ति पनि विलम्व नगरी महाअभियोग समितिमा पठाउन माग गर्नुभयो । उहाँले अख्तियारले भराउने भनेको १३ पाने फारम के हो त्यसवारे पनि जानकारी हुनुपर्ने माग गर्नुभयो ।

एमालेका प्रकाश ज्वालाले संसद र सविधानलाई अपमान गरेर कार्कीले लोकतन्त्रको समेत अवमुल्यने गरेको भन्दै संसदमा छलफल मात्रै हुँदा आशंका बढेकोले छिटो प्रकृया अघि बढाउनुपर्ने माग गर्नुभयो ।

एमालेका सांसद कर्णबहादुर थापाले महाभियोग प्रस्ताव पारित गर्न काग्रेस अल्मलिनु नहुने बताउनुभयो ।

एमालेकै सांसद चुडामणि जंगलीले सर्वोच्च अदालत र सरकारलाई समेत नटेरेर दोहोरो सत्ता चलाउन खोजेकोले कार्कीलाई पदमा राख्नै नहुने र त्यसबिषयमा खुट्टा कमाउन नहुने बताउनुभयो ।  कतै कार्कीलाई चोख्याउन खोजिएको त हैन उहाको प्रश्न थियो ।

तर कांग्रेसका सांसद नारायण कार्कीले अख्तियारले कारवाही गर्दा धेरैतिर खुसी आएको तर अहिले भष्टहरु अत्तालिएको भन्दै अख्तियार कमजोर बनाउने खेल भैरहेकोले कार्कीलाई हटाउने खेल नगर्न आग्रह गर्नुभयो  ।

एमालेका सांसद गुरुप्रसाद बुर्लाकोटीले बाह्य र आन्तरिक जहाँबाट दवाव आएपनि अख्तियार प्रमुखलाई हटाउन सवै दल एकजुट हुनुपर्ने बताउँदै कार्कीलाई गवारो लागेको केराको थाम को संज्ञा दिनुभयो ।

रामहरी सुवेदीले कार्कीलाई अख्तियारमा नियुक्ती सर्पलाई दुध खुवाए जस्तै भएको बताउनुभयो । जो महाअभियोग प्रस्तावको विपक्षमा हुन्छ त्यो सिद्धिन्छ । उहाँको भनाइ थियो ।

नवराज शर्माले अदालतको विषय योग्यताको हो हामीले उठाएको कर्मको फलको विषय हो । भन्नुभयो ।यस्तै सांसद रामविर मानन्धर महाअभियोग पारित गर्नुपर्छ ।

संसदको अर्को बैठक पाँच गते १ बजे बस्नेछ । यसैबिच सभामुख ओनसरी घर्तीले आइतवार सम्म छलफल सक्ने कोशिश भैरहेको बताउनुभएको छ । उहाँ आइतवार नै रुस भ्रमण जाँदै हुनुहुन्छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.