मुलुककै अग्ला झोलुङ्गे पुल अवलोकन गर्न खुला

रासस। मंसिर १३ । मुलुककै अग्ला झोलुङ्गे पुल निर्माण भएको पर्वतको सदरमुकाम कुस्मामा फेरि अर्को अग्लो झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ।

पर्वतको सदरमुकाम कुस्मालाई जिल्लाको फलेवास क्षेत्रसँंग जोड्न मोदीखोलामा १५८ दशमलव ७० मिटर अग्लो कुस्मा–मुडिकुवा झोलुङ्गेपुलको निर्माण कार्य सम्पन्न भएको हो। पुलको निर्माण कार्य सकिएसँगै सोमवार बिहानदेखि औपचारिक रुपमा सर्वसाधारणलाई ओहोरदोहोर गर्न तथा पर्यटकका लागि अवलोकन गर्न खुला गरिएको छ।

कुस्मा–मुडिकुवा झोलुङ्गेपुल निर्माण उपभोक्ता समितिले पुलको सतप्रतिशत निर्माण कार्य आइतबार साँझसम्म सकिएकाले सोमवार बिहानदेखि सर्वसाधारण र पर्यटकका लागि खुला गरिएको जानकारी दिएको छ।

आज बालाचर्तुदशी पर्व पर्ने भएकाले पनि प्रसिद्ध गुप्तेश्वर गुफा र अलपेश्वर गुफा तथा म्याग्दीको गलेश्वर जाने तीर्थालुको सुविधालाई समेत ध्यानमा राखेर पुल सञ्चालन गरिएको समितिले जनाएको छ।

मोटरसाइकललाई वारपार गर्नका लागि अझै दुई महिना लाग्ने बताइएको छ। दुवैतर्फबाट सडक जोड्न तथा पुलमा मोटरसाइकल ओहोरदोहोर गर्ने पूर्वाधार बनाउन समय लाग्ने छ।

कुस्माको बड्गाउँबाट मुडिकुवा जोड्ने यो झोलुङ्गे पुल मुलुककै सबैभन्दा अग्लो कालीगण्डकी नदीमा बनेको बड्गाउँ कैया झोलुङ्गे पुलभन्दा मात्रै ३० सेमी होचो छ। यो पुल अहिलेसम्म निर्माण भएका पुलमध्ये सबैभन्दा लामो ३५९ मिटर रहेको छ।

कुल एक करोड ७६ लाख रुपैयाँको लागतमा निर्माण पुल भएको हो। पर्वतको महत्वपूर्ण कृषि तथा व्यापारिक केन्द्रका रुपमा रहेको फलेवाससम्म पुग्न अहिले बड्गाउँबाट दुई घन्टा पैदल जानुपर्छ भने दोबिल्ला फलेवास सडकमार्फत जाँदा १३ किलोमिटर कच्ची सडकको दूरी पार गर्नुपर्छ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.