संविधान संशोधन प्रस्ताव अलपत्र, माग सम्वोधन नहुने मोर्चाका नेताको भनाई

काठमाडौ । मंसिर १३ । सरकारले संविधान संशोधन पछि मधेश केन्द्रित दलले चुनावमा जाने प्रतिवद्धता जनाउनुपर्ने प्रस्ताव गरेपछि संविधान संशोधनको बिषय फेरी अलपत्र परेको छ ।

सरकारले एमालेले पनि नमानेको अवस्थामा मधेशी मोर्चाले संशोधनलाई रणनितिका रुपमा मात्रै लिने खतरा देखेपछि सरकारले मोर्चाबाट चुनावमा जान्छौ भनेर प्रतिवद्धता आउनुपर्ने प्रस्ताव राखेको हो ।

तर मोर्चाका नेताहरुले भने प्रतिवद्धता नजनाउने देखिएको छ । तराइ भ्रमणका क्रममा नेपालगंज पुगेका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले तयारी गरेको संशोधन प्रस्तावले मधेस आन्दोलनको सम्बोधन नहुने भन्दै प्रस्ताव दर्तापछि मात्र त्यसबारे प्रतिक्रिया दिन सकिने बताएका ।

सीमांकन, नागरिकता, भाषा र राष्ट्रियसभामा प्रतिनिधित्वबारे संशोधन प्रस्तावको तयारीले हाम्रो माग सम्बोधन गर्दैन भन्दै अध्यक्ष ठाकुरले अहिलेको संशोधनलाई पनि नमान्ने संकेत गरे । सरकारले भने संशोधनका बिषय मोर्चाका नेतालाई दिइसकेको छ ।

संशोधनबाट पनि मोर्चा खुसी नहुने र एमाले पनि विपक्षमा उभिने भएपछि सरकार झन अप्ठ्यारोमा परेको छ ।

किन संशोधन प्रस्ताव ल्याउने भन्ने अवस्थामा पुगेको सरकारले पनि मोर्चा तयार नभए संशोधन नै अघि नबढाउने सोचमा पुगेको छ । सरकारकै मन्त्रीहरुले मोर्चाले चुनाव नमाने संशोधन प्रस्ताव अघि नबढाउने बताएका छन।

यसैबीच नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमले संविधान संशोधन गर्दा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने लगायत विषय उठाएपछि परिस्थिति अन्तैतिर मोडिने देखिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.