बुटवल मंसीर १५ । जनमत विपरित सरकारले सविंधान संशोधन प्रस्ताव दर्ता गरेपछि पाँच नम्वर प्रदेशमा आन्दोलन चर्किएको छ ।
संशोधन विधेयक दर्ता गरेको विरोधमा लुम्विनि अंचल सहित पाँच नम्वर प्रदेशका प्युठान र बाग्लुगं सहितका जिल्लामा बन्द, प्रदर्शन, चक्काजाम, लगायतका आन्दोलनका कार्यक्रम भैरहेका छन । मंगलवार राती सरकारले संसदमा संशोधन प्रस्ताव दर्ता गरेपछि बुधबार बिहानदेखि रुपन्देही सहित पाँच नम्वरका जिल्लामा विरोध प्रदर्शन भएका छन् । रुपन्देही बन्द भएको भने गुल्मीमा पनि बन्दको घोषणा गरिएको छ ।
यसैगरी पाल्पामा बजार बन्द र विरोध प्रदर्शनको कार्यक्रम भएका छन । विभिन्न राजनीतिक दलले १८ गते पाल्पा बन्दको घोषणा समेत गरेका छन् ।
आन्दोलनमा उत्रिएका स्थानीयले प्रमुख सहर बुटवल सहित रुपन्देही बन्द गरेका छन । आन्दोलनकारीहरुले पुर्व पश्चिम राजमार्ग समेत बन्द गरेर विभिन्न ठाँउमा प्रदर्शन गरेका छन । तराई मधेसको समस्या समाधान गर्ने नाममा पहाडी जिल्ला टुक््रयाउन संसद्मा प्रस्ताव दर्ता भएपछि सत्तारुढ दलकै सांसद तथा नेताहरुले समेत तिव्र आक्रोश जनाएका छन ।
यसैक्रममा बुटवलका बिभिन्न ठाउँवाट जुलुसहरु प्रदर्शन गरिएका छन् । संसोधन प्रस्ताब खारेजको माग गर्दै बिधार्थीहरुले चक्काजाम गर्दै प्रधानमन्त्री प्रचण्डको समेत राजिनामा माग गरेका छन् ।
बिधार्थी आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ भनी सवारी पनि चल्न सकेको छैन् । सरकारी प्रस्तावको विरोध गर्दै गुल्मी,पाल्पा र अर्घाखाँचीमा पनि आन्दोलन चर्किएको छ ।
संविधान संशोधनविरुद्ध उभिन नेमकिपाको आह्वान
यसैबीच नेपाल मजदुर किसान पार्टीले मंगलबार राति व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव नेपाल र नेपाली जनताको हितमा नभएको ठहर गर्दै विराध गरेको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)को अध्यक्षतामा बुधबार बिहान सम्पन्न सचिवालय बैठकले संशोधन प्रस्ताबमा उल्लेखित भाषा, प्रदेशहरुको सिमाङ्कनमा हेरफेर, नागरिकता र जनसङ्ख्याको आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्व जस्ता कुनै पनि विषय नेपाल र नेपाली जनताको हितामा नभएको ठहर गरेको हो ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेमकिपाले भारतीय शासक वर्गको निर्देशनमा व्यवस्थापिका–संसदमा दर्ता गरेको संविधान संशोधनको प्रस्तावले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधिनतामा गम्भीर असर पार्ने भएकोले त्यस प्रस्तावको विरोधमा उभिन सबै राजनीतिक दलहरुलाई आह्वान गरेको छ ।
संविधान कार्यान्वयनको लागि स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बेला भारतीय शासक वर्गको निर्देशनमा संविधान संशोधनको प्रस्ताव गर्नु देशमा निर्वाचन हुन नदिने षडयन्त्र भएको जनाउँदै नेमकिपाले भारतीय हस्तक्षेपविरुद्ध अभियान जारी राखेको जनाएको छ ।
यसैबीच सरकारले १४ गते राती संसद सचिवालयमा गरेको संविधान संशोधन प्रस्ताव लाई राष्ट्रिय जनमोर्चाले उक्त राष्ट्रघाती र जनविरोधी संशोधन प्रस्ताव भनेको छ । उसले मंगलवार राजधानीको शान्तिवाटिकामा प्रस्ताव विरुद्धमा प्रदर्शन गर्ने जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीद्धारा जारी विज्ञप्तिमा पार्टीले देशव्यापी रुपमा एकल र संयुक्त रुपमा संघर्ष गर्ने ठेगान गरेको मंगलवार काठमाडौको शान्तिवाटिका, रत्नपार्कमा विरोध सभा आयोजना गरिएको जनाएको छ ।