बुटवल,मंसिर १५ । पूर्व उपप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले पाँच नम्बर टुक्र्याउने गरी आएको संविधान संशोधन प्रस्तावको सदन र सडकबाट सशक्त प्रतिरोध गर्ने चेतावनी दिनुभएको छ ।
अर्घाखाची क्षेत्र नम्बर २ का सांसद समेत रहेका नेता रायमाझीले पत्रकारहरुसंग कुरा गर्दै सरकारले दर्ता गरेको प्रस्ताव असफल बनाएरै छाड्ने उद्घोष गर्नुभयो ।
पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव कसैको स्वार्थ पूरा गर्न आएको दावी गर्दै नेता रायमाझीले सिमांकनबारेको प्रस्ताव पार्टीमा निर्णय भएर नगरेको पनि स्पष्ट पार्नुभयो ।
पार्टी र तत्कालिन स्वार्थभन्दा माथि उठेर देश र जनताको पक्षमा निर्णय गर्छौ, टुक्र्याउन हुन्न भन्ने जनताको आवाजमा हाम्रो साथ छ —नेता रायमाझीले भन्नुभयो— संविधान संशोधन प्रस्ताव पार्टीको नभई सरकारको हो ।
उहाँले सदन र सडकमा अव कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल गर्न १७ गते ११ बजे प्रदेशका सबै पार्टीका सांसद, नेताहरुको बैठक राखिएको र त्यसै बैठकले भावी आन्दोलनको स्वरुप निर्धारण गर्ने उहाँको भनाई थियो .यसैबीच सरकारले १४ गते राती संसद सचिवालयमा गरेको संविधान संशोधन प्रस्ताव लाई राष्ट्रिय जनमोर्चाले राष्ट्रघाती र जनविरोधी संशोधन प्रस्ताव भनेको छ ।