बुटवलमा सर्वदलीय बैठक आचारसंहिता बनाएर आन्दोलन जारी राख्ने

बुटवल, मंसिर १९ । रुपन्देहीमा सर्वदलीय संयन्त्रले आन्दोलनको आचार संहिता बनाएको छ । आन्दोलन शान्तिपूर्ण र मर्यादित बनाउने भन्दै दलहरुको शनिबार बुटवलमा बसेको बैठकले आन्दोलन जारी राख्ने निर्णय गर्दै आचारसंहिता तयार पारेको हो ।
एमाले प्रदेश संगठन कमिटीको कार्यालयमा बसेको सर्वदलीय बैठकले आन्दोलनका नया“ कार्यक्रम तयार पार्दै सहकार्यमा आउन सबैसित आग्रह गरेको छ ।
एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदी, जनमोर्चा नेपालका नरसिंह कुमाल, राष्ट्रिय जनमोर्चाका गणेश गौतम, नेकपा माक्र्सवादीका दामोदर भट्टराई, अखण्ड नेपाल पार्टीका कमल पोखरेल, नेकपा मालेका टिकानिधि गौतम र नेकपा संयुक्तका कृष्ण गुरुड्डले बैठक पछि संयुक्त रुपमा हस्ताक्षर गरेर प्रेस विज्ञप्ति जारी गरेका छन् ।
व्यवस्थापिका संसदमा दर्ता गरेको संशोधनको विद्येयक फिर्ता नभएसम्म आफुहरुको आन्दोलन जारी रहने विज्ञप्तिमा उल्लेख छ । सर्वदलीय उक्त वैठकले आन्दोलनको आचारसंहिता पनि तयार पारेको छ । जसअनुसार विहान ७ देखि बेलुका ४ बजेसम्म आन्दोलनका कार्यक्रमहरु गरिने भएको छ । बुटवल, भैरहवा, फर्साटिकर, सालझण्डी, सैनामैना, देवदह, आनन्दवनलाई केन्द्रमा राखेर आन्दोलनका कार्यक्रमहरु गरिने दलहरुले बताएका छन् ।
सर्वदलीय संयुक्त संघर्ष समितिको आन्दोलनमा विरामी बोकेका एम्बुलेन्स, विवाह, दुध, ग्यास, हरियो तरकारी, फोहरमैला संकलनका, पत्रकार, सुरक्षा निकाय, कुटनीतिक निकाय, शववाहन र पर्यटकका गाडीलाई छुट दिइने बताएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.