काठमाडौं ।मंसिर २० । नेकपा एमालेले प्रदेश टुक्राउने सरकारको प्रस्ताव विरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा सोमवार बसेको स्थायी कमिटी बैठकले प्रदेशको सिमाना हेरफेर गर्ने सरकारको प्रस्ताव संविधान र सर्वोच्च अदालतको आदेश विपरित भएको ठहर पनि गरेको छ ।
स्थायी समिति बैठकपछि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान विपरित सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव फिर्ता नलिए पाँच नम्वर प्रदेश केन्द्रित आन्दोलन देशव्यापी र थप सशक्त बनाउने निर्णय भएको जानकारी दिनुभयो ।
उपाध्यक्ष बामदेव गौतमले सरकारले संविधानको उल्लंघन गरेर संविधान संशोधन प्रस्ताव दर्ता गरेको भन्दै संशोधन प्रस्ताव फिर्ता नगरे पाँच नम्बर प्रदेशमा केन्द्रित आन्दोलनलाई देशव्यापी बनाउने तराइमा विशेष किसिमको आन्दोलन गरिने बताउनुभयो ।
यसैबीच संविधान संशोधन प्रस्ताव मार्फत सीमांकन हेरफेर गर्ने सरकारी निर्णयको विरोधमा सोमवार छैठौ दिन पनि पाँच नम्वर प्रदेशका सवैजसो जिल्लामा बन्द र प्रर्दशन जारी छ ।
पाँच नम्वर प्रदेशबाट पहाडी जिल्ला टुक्राउन नुहने भन्दै बुटवलमा सांस्कृतिक कार्यक्रम सहित प्रर्दशन भएको छ । रुपन्देही बन्दले सडक र बजार ठप्प भएपछि बुटवलमा गायक बद्री पंगेनी लगायतका कलाकारले गित र ब्यग्यं मार्फत सडक तताए ।
कलाकारले प्रदेश टुक्राउन नहुँने भन्दै नाचगान गरेपछि प्रर्दशनकारी पनि सोमवार दिनभर सडकमै नाचगानमा उत्रिएका थिए ।
त्यसअघि बिहानैदेखि बुटवलका चोक–चोकमा जम्मा भएर प्रदर्शनकारीले नाराबाजी समेत गरेका थिए । संविधान संशोधनको प्रस्ताव सरकारले फिर्ता नलिदासम्म आन्दोलन जारी राख्ने आन्दोलनकारीको भनाइ छ ।