काठमाडौ । मंसिर २२ । सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलले बुधवार चौथो दिन पनि संसद अवरुद्ध गरेका छन् ।
संसद बैठकमा विरोध जनाउनुको कारणबारे बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले देशको राष्ट्रियता सार्वभौमिकता र अखण्डता सत्तालिप्सा भन्दा ठुलो भएको भन्दै राष्ट्रियता र सार्वभौमसत्तालाई सौदाबाजी गरेर विदेशको कठपुतली भएर सत्तामा जाने आउने नगरौ भन्नुभयो ।
देश रहे मात्रै मन्त्री हुन पाइने भन्दै उहाँले विगतका पनि मन्त्री भएका र पछिका पनि मन्त्रि हुने भएकोले देश र जनताको हितमा सिरियस हुन सवैलाई आग्रह गर्नुभयो ।
कुरा जस्ता कुरा गरे चित्त फाट्ने, नाच जस्तो नाच गरे घाघँरी फाट्ने भने जस्तै भएको छ भन्दै केसीले छिमेकीको स्वार्थ बमोजिम गर्न खोजिकएकोले देशको राष्ट्रियता र सार्वभौमसत्तामाथि छिमेकीले खेल खेलेको र नेपालको हितका कुरा छाडेर पहिला भारतीय दुताबासमा कुरा गर्ने प्रवृति नरोकिएको दावी गर्नुभयो ।
काकडभित्तादेखि महेन्द्रनगरसम्मको भूभागलाई छुट्टाउने र हिन्दी भाषालाई नेपाली सरह बनाउने खेल भएको भन्दै देश टुक्राटुक्रा पारेर जान लागेकोले गम्भिर हुन सांसदहरुलाई आग्रह गर्नुभयो ।
ख्याल ठट्टा हैन यो ७० बर्ष देखि नेपाललाई भारतीय महासंघमा गाम्भे खेल अनुसार भैरहेको भन्दै उहाँले नेपाली जनताको देशभक्ति र नेपालका पार्टीहरुको एकता र संघर्षबाट देश बचेको बताउँदै केसीले पाँच नम्वर प्रदेश टुक्राउन लगाउनेहरुले उपलब्धि मान्नुस र स्विकार्नुस त्यसपछि पुर्व र पश्चिमका पहाडी जिल्ला विस्तारै तानौला भनेर योजनाबद्ध काम गरेको भनेर भारतले खेल गरेको भन्ने इंगित गर्नुभयो ।
केसीले पाँच नम्वर प्रदेशबाट पहाडी जिल्ला टुक्राउन मधेश केन्द्रित दलले पनि नमानेको तर छिमेकीले किन मानेको भन्ने प्रश्न गर्दै नेपाललाई सिक्किम बनाउने चाहाना पुरा नभएसम्म छिमेकीले खेल खेलिरहने र संसदमा पनि किचलो भैरहने दावी गर्नुभयो ।
नेता केसीले ग्यान्डडिजाइन अनुसार देशलाई बर्वाद बनाउने खेल भैरहेको भन्दै सांसदहरुलाई पनि देशको बारेमा गम्भिर भएर सोच्न आग्रह गर्नुभयो ।
नेपालले आफै संविधान बनाएकै कारण नाकाबन्दीको सामना गर्नुपरेको स्मरण गर्दै उहाँले देश रहे मात्रै सांसद भइने भएकोले मुलुकको हितमा सोच्न आग्रह गर्नुभयो ।
ब्यापारीले कारोवार बिग्रेपछि रद्धीको टोकरीमा फालेका कागजपत्र खोजे झै अहिले पुराना बिषय खोजेर लफडा मच्चाउन खोजेको भन्दै केसीले मुलुकलाई द्धन्दमा लैजान खोजिएको आरोप लगाउनुभयो ।
आफ्नो दल संघियताको पक्षमा नभएकोबारे खुलेर देखिए पनि संघियताले देशलाई द्धन्दमा लैजान थालेको बिषयमा प्रमुख दलहरु पनि सहमत भएको तर मुख खोलेर बोल्न नसकेको दावी गर्नुभयो । उहाँले भन्नुभयो–लाइचु माया बिचारै नगरी भनेजस्तो भएको छ । केसीको मन्तब्य सांसदहरुले गम्भिर भएर सुनेका थिए ।