काठमाडौ । मंसिर २३ । विकास निर्माणका काम प्रभावकारी नहुनु र कमसल हुनुमा राजनीतिक दलहरुको हस्तक्षेप नै मुख्य कारण भएको आरोप सरकारकै मन्त्री, योजना आयोगका सदस्य र मुख्य सचिवले लगाएका छन ।
ब्यवस्थापिका संसदको विकास समितिमा बिहिवार भएको विकास निर्माणका काम कारवाहीको ढिलाई बारेको छलफलमा स्थानीय विकासमन्त्री हितराज पाण्डेले शुरुमा योजना छनोट गर्दा नै राजनीतिक दलहरुको स्वार्थका कारण ढिलासुस्ती हुने र त्यसपछि विकास आयोजनाका कामलाई निर्वाचन संग जोडेर प्रयोग गर्ने प्रचलनले समस्या बढेको बताउनुभयो ।
यसैगरी राष्ट्रिय योजना आयोगका सदस्य हिरण्यलाल प्रधानले राजनीतिक दलहरुले अहिले पनि योजना पारिदिन दवाव दिने गरेको भन्दै दलीय हस्तक्षेपले विकासमा मुख्य बाधा पुराएको दावी गर्नुभयो ।
यसैगरी मुख्य सचिव सोमलाल सुवेदीले कर्मचारीको अभाव र राजनीतिक दबाब तथा काम पुरा नहुँदै कर्मचारीको छिनछिनमा हुने सरुवाले समस्या पारेको बताउनुभएको थियो ।
समितिका सदस्य सांसदहरुले भने अस्थिर राजनीति र स्थानीय निकायको निर्वाचन नहुदा विकासका योजनाहरु प्रभावित भएको बताएका थिए ।