चुनाव नगराउने भए तत्काल सत्ता छाड्न प्रधानमन्त्री दाहाललाई एमाले अध्यक्ष ओलीको चेतावनी

काठमाडौ । मंसिर २३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल चुनावको मिति घोषणा गर्न माग गर्दै निर्वाचन गर्न नसके सरकार छाड्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिनुभएको छ ।

पार्टी कार्यालय धुम्वराहीमा विहिवार संघीय समाजवादी फोरम लगायतका दलका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै अध्यक्ष ओलीले तत्काल चुनावको तयारी गर्न माग गर्नुभएको हो ।

वर्तमान सरकारको काम संक्रमणकाल अन्त्यगरी  निर्वाचन गर्नु रहेको भन्दै अध्यक्ष ओलीले चुनाव गराउन नसक्ने भए प्रधानमन्त्री दाहाललाई कुर्सीमा बस्ने अधिकार नभएको बताउनुभयो ।

उहाँले सत्तारुढ दल मधेशी मोर्चाका नेताहरुको माग देखाएर अरु कसैको आकांक्षा पुरा गराउन वर्तमान सरकार सक्रिय रहेको आरोप पनि लगाउनुभयो ।

ओलीले पाँच नम्वर प्रदेश टुक्रयाउने गरी सरकारले ल्याएको संशोधन प्रस्ताव कुनै पनि हालतमा अघि बढ्न नदिने चेतावनी दिनुभयो ।

यसैबीच सभामुख ओनसरी घर्तीले ब्यवस्थापिका संसद सुचारु गर्ने पहल स्वरुप प्रमुख प्रतिपक्ष दल एमाले र सत्तारुढ दलका नेताहरुसँग राजनीतिक भेटवार्ता गर्नुभएको छ ।

सभामुख घर्तीले बिहिवार सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमाललेका अध्यक्ष केपी शर्मा ओलीसंग छुट्टाछुट्टै भेटवार्ता गरी समस्या समाधानका लागि सहमतिका साथ अघि वढ्न दलहरुलाइ आग्रह गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.