बुटवल । मंसीर, २४ । पाँच नम्वर प्रदेश टुक्राउने गरी संविधान संशोधन प्रस्ताव ल्याएका प्रधानमन्त्री पुष्पकमल दाहालले सीमाङ्कन हेरफेरको विषयलाई लिएर भैरहेको आन्दोलनका पछाडि ठूलो षडयन्त्र रहेको आरोप लगाउनुभएको छ ।
शुक्रबार बिहान सुर्खेतको बिरेन्द्रनगरमा पार्टीनिकट अगुवा कार्यकर्ताहरुसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘संशोधन प्रस्तावको सीमाङ्कन हेरफेरको विषयलाई लिएर जुन आन्दोलन भइरहेको छ, यसका पछाडि ठूलो षडयन्त्र छ ।’
‘जसलाई संघीयता मन परेको छैन, गणतन्त्र मन परेको छैन, समावेशी समानुपातिकता पनि मन परेको छैन तिनिहरुले नै यी सब बखेडा झिकिरहेको’ प्रधानमन्त्रीको आरोप छ । प्रधानमन्त्रीले उपलब्धिलाई उल्ट्याउने षडयन्त्रबाट आन्दोलन प्रेरित त छैन भन्ने प्रश्न उठेको पनि जिकिर गर्नुभयो ।
प्रधानमन्त्रीले सरकार निर्वाचनको मिति घोषणाको अन्तिम तयारीमा रहेको पनि बताउनु भयो ।उहाँले निरास हुनुपर्ने कुनै कारण छैन भन्दै नयाँ जोश, जाँगर र उत्साहका साथ चुनावको तयारीमा जुट्न पार्टी कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले माओवादी पार्टीलाई एकताबद्ध पार्न आफू क्रियाशील रहेको बताउँदै मोहन वैद्य, बाबुराम, विप्लवहरुसँग पनि पार्टी एकता हुने विश्वास व्यक्त गर्नु भयो ।