बुटवल, २७ मंसिर । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले नेपाल अहिले गम्भिर राजनैतिक संकटमा रहेको बताउनुभएको छ । उहाँले मधेश र पहाडी अतिवादीका कारण राजनैतिक संकट निम्तिएको भन्दै यसले नेपालकै भविष्य ठूलो खतरामा पारेको बताउनुभयो ।
नेपाल आदिवासि जनजाती पत्रकार मञ्च, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको संविधान संशोधन, पर्नुलेखन, खारेजी र कार्यान्वयमा देखिएको चुनौती बिषयक अन्तरक्रिया कार्यक्रममा नेता गुरुङले यस्तो बताउनुभएको हो । उहाँले संविधान राजनैतिक सम्झौताको रुपमा आएकाले यसबाट न्यूनतम अधिकार स्थापित गर्नु नै अहिलेको उपलब्धी हुने बताउनुभयो ।
उहाँले आदिवासि जनजाती र मधेशी समुदायले भनेजस्तै गरि संविधान नआएको भन्दै थप अधिकार प्राप्तीका लागि यो संविधानको कार्यान्वयनमा जानुपर्ने तर्क गर्नुभयो । अहिले सरकारले मधेशमा उठेको आवाजलाई सम्बोधन गर्ने र सविधान कार्यान्वयनमा लैजाने गरि संसोधनको प्रस्ताव ल्याएको बताउनुभयो । अहिले मधेशबादी दल र पहाडे खसको प्रतिनिधित्व गर्ने विचारलाई सहमतीमा ल्याउन नसक्ने हो भने देश द्धन्द्धमा जाने नेता गुरुङको भनाई छ । सुगौली सन्धि, अग्रेजबाट जोगिएको नेपालको अस्मिता रक्षा गर्ने बेला फेरि अहिले आएको उहाँले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशी मगरले संविधान घोषणा भएको एक बर्षसम्म पनि नतिजा दिन नसकेकाले जनताको भावना समेट्न नसकेको प्रष्ट भएको आरोप लगाउनुभयो । संघीय समाजवादी फोरमका नेता एंव जनजाती नेता आङकाजी शेपाले अन्तरीम संविधानमा उल्लेख भएअनुसार प्रदेशको नामांकन र सिमाना तय हुनुपर्ने आफुहरुको माग रहेको बताउनुभयो । क्रान्तिकारी माओवादीका नेता केबी गुरुङले संविधान नै गलत बाटोबाट आएकाले यसले पहिचान र संघियताको मर्म आत्मसाथ नगरेकाले कार्यान्वयन हुनै नसक्ने तर्क गर्नुभयो । नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले नेपालमा भारतले इतिहासदेखि नै हस्तक्षेपको श्रृखला बढाएको भन्दै अहिले जनताको भावना विपरित संविधान संशोधनको प्रस्ताव ल्याएर सरकारले संविधानकै उल्लघन गरेको टिप्पणी गर्नुभयो । नेपाल आदिवासि जनजाती पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष टेक मास्की रानाको अध्यक्षता एंव सोनु थापा मगरको सञ्चालनमा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका नेता हरिबहादुर आचार्य क्षेत्री, नेपाल आदिवासि जनजाती महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष विमला गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही अध्यक्ष झमबहादुर गुरुङले बोल्नुभएको थियो ।