काठमाडौ । मंसिर २८ ।संविधान संशोधन प्रस्तावले दलहरुबीच राजनीतिक ध्रुविकरण बढ्दै गएका बेला प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र पुरानै संरचना अनुसार भएपनि स्थानीय निर्वाचन गराउने विषयमा सहमतिको नजिकै पुगेका छन् । दलहरुबीच संविधान संशोधन, महाअभियोग प्रस्ताव, तिनै तहको निर्वाचन, निर्वाचन सम्बन्धि कानून, निर्वाचन क्षेत्र निर्धारण लगायतका राजनीतिक सवालमा सम्वाद जारी राख्ने र सहमतिबाटै निकास खोज्ने समझदारी भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा स्थानीय निर्वाचनको तयारीमा जुट्ने विषयमा कुराकानी भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिनुभयो । उहाँले छलफल सकारात्मक भएको र थप छलफल गरेर टुंगोमा पुग्न प्रयास गरिने पनि बताउनुभयो ।
चुनावका लागि आवश्यक कानुनलाई तिव्र रुपमा अघि बढाउने र छिट्टै मिति तोक्ने विषयमा सकारात्मक कुरा भएको भएको कांग्रेस सभापति शेरबहादुर देउवाले जानकारी दिनुभयो ।
तर, सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई कसरी अघि बढाउने भन्ने विषयमा भने तीन दलबीच कुरा मिल्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचनको मिति तोक्नुपर्ने माग गरेको छ । तर सरकारले भने सहमतिमा संशोधन प्रस्ताव परिमार्जन गरेर अघि बढ्नुपर्ने बताउँदै आएको छ । बैठकपछि काग्रेस सभापति शेरबहादुर देउवाले प्रस्ताव फिर्ता नुहने बताउनुभयो ।