अख्तियारका निलम्बित प्रमुख कार्कीलाई सर्वोच्च अदालतभित्रै कालोमोसो

काठमाडौ । पुस ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले सर्वोच्च अदालतभित्रै कालोमोसो दलेका छन । आफुमाथिको मुद्धाको पेशी बुझ्न सर्वोच्च अदालतभित्र पुगेका कार्कीलाई दुई जना ब्यक्तिले अदालतभित्रै कालोमोसो दलेका थिए । कार्कीको अनुहार र ओठ तथा दाँतमा समेत कालो लागेको थियो । कार्कीलाई मोसो दलेपछि भित्रबाट दौडिदै भागेका दुवैजनालाई प्रहरीले सर्वोच्च अदालत परिसरमै तत्काल पक्रेको थियो । पक्राउ पर्ने दुबैजना चन्द नेतृत्वको नेकपा मा‌ओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य चन्द्रबहादुर बुढा र प्रकाश शाही रहेको मा‌ओवादी स्रोतले बताएको छ । पक्राउ परे लगत्तै उनीहरुले नेकपा माओवादी जिन्दाबाद,जनआन्दोलनका हत्यारालाई कारवाही गर भन्दै नारा लगाएका थिए । आफुलाई कालोमोसो दलिएपछि कार्की भने भित्रै मुख धोएर कार्की अदालतबाट बाहिरिनुभएको थियो । संचारकर्मीहरुको घेरामा परेका कार्कीले आक्रोशित मुद्रामा बाटो छोड्नुस भन्दै गाडी चढेर बाहिरदै गर्दा सर्वोच्च अदालत परिसरमा रहेकाहरु सवै चकित परेका थिए । पक्राउ परेका दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । कार्कीको नियुक्तिमा योग्यतासम्बन्धी प्रश्नको मुद्दाको बिहिवारबाट सुनुवाई सुरु भएकै बेला कालोमोसो दलिनुलाई अर्थपुर्ण रुपमा लिइएको छ । संवैधानिक परिषद्ले ३ बर्ष अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलाई नियुक्त गरेपछि असंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.