काठमाडौ । पुस १२ । सत्तारुढ दल काग्रेस र नेकपा माओवादी केन्द्रले संविधान संशोधन लगायत राष्ट्रिय मुद्धामा सहमतिमा आउन मधेशी मोर्चाका नेताहरुलाई आग्रह गरेका छन । प्रधानमन्त्री पुष्पकमल दाहालको आब्हानमा बालुवाटारमा मंगलवार भएको तीन पक्षको बैठकमा सत्तापक्षले सहमतिमा आउन मोर्चाका नेताहरुलाई आग्रह गरेको हो ।
तर मोर्चाका नेताहरुले यथाअवस्थामा संविधान संशोधन प्रस्तावले निकास नदिने र आफना माग पुरा नहुने भन्दै प्रस्ताव परिमार्जन गरेर अघि बढ्नुपर्ने बताएका थिए ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सदन सञ्चालन, संविधान संशोधन, स्थानीय निर्वाचन लगायतका विषयमा छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, संशांक कोइराला, प्रकाशमान सिंह, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर लगायत मधेशी मोर्चाका प्रमूख नेताहरु सहभागि थिए ।