काठमाडौ । पुस १५ । प्रमुख तीन दलबीच स्थानीय तहको निर्वाचन गर्ने बिषयमा सकारात्मक छलफल भैरहेका बेला संयूक्त मधेशी मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित नगरेसम्म कुनै पनि तहको निर्वाचन अस्वीकार गर्ने निर्णय गरेको छ ।
काठमाडौमा दुई दिनसम्म बसेको मोर्चाको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न शुक्रवार बिजुलीबजार स्थित तमलोपाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाका नेताहरुले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक पारित नगराएसम्म कुनै तहको निर्वाचन स्वीकार नगर्ने निर्णय भएको बताए ।
पत्रकार सम्मेलनमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले आफुहरुको माग झापादेखि कञ्चनपुरसम्मको भागलाई समेटेर मधेशमा दुई प्रदेश बनाउनुपर्ने माग कायमै रहेको पनि बताउनुभयो । उहाँले स्थानीय निकाय पुन संरचना आयोगले जनसख्याको आधारलाई वेवास्ता गर्दै संविधान विपरित प्रतिवेदन तयार गरेको आरोप लगाउदै प्रतिवेदन अस्वीकार गर्ने पनि चेतावनी दिनुभयो ।
मोर्चाले संशोधन विधेयक अघि बढाउन माग गर्दै यही पुष १८ गते जिल्ला सदरमुकामहरुमा खबरदारी विरोध प्रदर्शन गर्ने समेत निर्णय गरेको छ ।
चुनाव अस्विकार गर्ने मोर्चाको निर्णयलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालले चुनाव नगराउने सत्तापक्षको षडयन्त्रको उपज भनेको छ । राजधानीमा पत्रकारसंग कुरा गर्दै एमाले उपाध्यक्ष बामदेव गौतमले मोर्चाले अस्विकार गरेपनि सरकारले चुनाव को मिति घोषणा गरे एमालेले सघाउने र निर्वाचन रोक्न नहुने बताउनुभयो ।
चुनाव मान्दैनौ भन्ने मोर्चाको भनाई सत्ता पक्षको बोलीको रुपमा आएको शंका गर्दै उहाँले सबैमिलेर स्थानीय तहको निर्वाचन नगर्ने खेल खेलिरहेको आरोप पनि लगाउनुभयो ।