राजनीतिक मुडभेडको संकेत,संसदको अवरोध खोल्न प्रधानमन्त्री दाहालले गरेको आग्रह एमाले अध्यक्ष ओलीद्धारा अस्विकार

काठमाडौ । पुस १७ ।संसद अवरोध अन्त्य गरी संविधान संशोधन प्रक्रिया अघि बढाउने बिषयमा प्रमुख दलहरुका आआफ्नै अडानले राजनीतिक मुडभेड निम्तने खतरा देखिएको छ ।
गत मंसिर १५ गतेदेखि निरन्तर अवरुद्ध हुँदै आएको संसदको अवरोध खुलाउने बिषयमा सहमतिमा पुग्न सभामुख ओनसरी घर्तीले दिएको पछिल्लो तीन दिनको समयमा पनि दलहरु आआफ्नै अडानमा रहेपछि समस्या समाधान भन्दा झन बल्झिने स्थिति देखिएको हो । तीन दिनको समयमा प्रमुख तीन दल काग्रेस,एमाले र माओवादी केन्द्रबीच त्रिपक्षीय छलफल समेत भएन । सहमतिकालागि सभामुख घर्तीले दिएको तीन दिनको आइतवार अन्तिम दिन दलहरुबीच दुइ पक्षीय सामान्य छलफल भएपनि उनीहरु आआफ्नै रणनीतिमा कायमै छन । आइतवार प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको अवरोध खोलेर सहयोगका लागि प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गर्नुभएको भएपनि एमालेले अस्विकार गर्यो । प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी संविधान संशोधन प्रस्तावको टुगो लागेपछि चुनावको मिति तोक्ने भन्दै संसदबाट पारित भए पनि वा नभए पनि प्रक्रियाबाटै टुङ्गो लगाउन सहयोग माग्नुभएको थियो । तर ओलीले आफ्नो अडान छाड्नुभएन । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले दलहरुबीच प्याकेजमै सहमति जुटाउने प्रयास भइरहे पनि ठोस सहमति नजुटेको जानकारी दिनुभयो ।
सत्तासाझेदार दल माओवादी केन्द्र र कांग्रेसले भोलिको संसद् बैठकमा संविधान संशोधन प्रस्ताव टेबल गर्ने जनाइसकेका छन् ।
उता आइतवार नै प्रेस चौतारीले राजधानीमा गरेको कार्यक्रममा एमाले महासचिव इश्वर पोखरेलले सरकारलाई संशोधन प्रस्ताव एकपक्षीय रुपमा संसदमा लैजान चुनौती दिनुभयो । उहाँले असंवैधानिक प्रस्ताव संसदमा टेवुल गर्नै नदिने चेतावनी पनि दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.