काठमाडौ । पुस १८। राजनीतिक गतिरोध अन्त्यका प्रमुख तीन दलको बैठक सोमवार पनि सफल हुन सकेन । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलहरुले आआफ्नै कुरा राखे र सहमतिका लागि थप छलफल गर्ने भन्दै हिडे ।
सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले संसदको अवरोध खुलाएर अघि बढ्ने वातावरण बनाउन प्रमुख प्रतिपक्षी एमालेसँग आग्रह गरेका थिए । संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने एमालेको जवाफ पाएपछि कुरा मिलेन ।
बैठकपछि एमाले अध्यक्ष ओलीले भने– हाम्रो धारणा उही हो कुरा मिलेन । तर काग्रेस सभापति शेरबहादुर देउवाले सकारात्मक छलफल भएको बताए । काग्रेसकै रामचन्द्र पौडेलले भने कुरा नमिलेको बताए । यस्तै माओवादीका नेता नारायणकाजी श्रेष्ठले सरकार सहमतिमा अघि बढ्न चाहेकोले थप छलफल गर्ने जानकारी दिए ।
गतिरोध अन्त्य गरी संविधान संशोधन प्रक्रिया अघि बढाउने बिषयमा प्रमुख दलहरुका आआफ्नै अडानले संसदको बैठक स्थगित भयो । पहिलो सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका नौ दलले अवरोध गरेपछि सभामुख घर्तीले सोमवार नै दोश्रो बैठक बोलाउनुभएको थियो । तर दलहरुबीच कुरा नमिल्दा दोश्रो बैठक सुचना टाँसेर स्थगित गर्नुपर्यो । संसदको अर्को बैठक मंगलवार १ बजेका लागि बोलाइएको छ ।