काठमाडौ । पुस १९ । सरकारले हटाउने प्रपन्च अनुसार स्पष्टिकरण सोधेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले आफुलाई सरकारले नै असहयोग गरेको भन्दै स्पष्टिकरण दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार स्पष्टिकरण बुझाउँदै ज्ञवालीले अर्थमन्त्रालयले समयमै रकम निकासा नगर्दा भनेजस्तो काम गर्न कठिन भएको उल्लेख गर्नु भएको छ ।
सरकारले गत बिहिबार ज्ञवालीलाई पदबाट हटाउने कानूनी प्रकृया अन्तर्गत स्पष्टीकरण सोधेको थियो । ज्ञवालीले पनि सरकारी पत्रको प्रतिउत्तर दिएको बताउनुभएको छ ।
उहाँले प्राधिकरणको योजना अनुसार नै सही ढंगले काम भईरहेको उल्लेख गर्दै भूकम्प पीडितले अनुदान पाएर घर पुनर्निर्माणको काम भइरहेको उल्लेख गर्नुभएको छ ।
काम भैरहेका बेला आफुलाइ स्पष्टीकरण सोधिनु कतिसम्म उपयुक्त हुन्छ? ज्ञवालीले सरकारलाई नै प्रश्न गर्नु भएको छ ।
अन्तर्राष्ट्रिय समुदायले समेत सकारात्मक मानेको र सरकारको नीति योजना अनुरुप काम भईरहेको भन्दै उहाँले पाँच बर्षमा सक्ने काम एकैवर्षमा सक्ने खालको अपेक्षा गर्न नहुने पनि स्पष्टीकरणमा उल्लेख गर्नुभएको छ ।