काठमाडौ । पुस २० । तत्कालिन राजा वीरेन्द्रको नाममा रहेको र तत्कालिन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणालाई दाइजोमा दिएको १५ रोपनी १ आना जग्गा र त्यसमा बनेको घर सरकारको नाममा फिर्ता भएको छ ।
राजधानीको महत्वपुर्ण क्षेत्र छाउनीमा रहेको बहुमुल्य उक्त जग्गा र घरमा पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहको हक लाग्ने गरी यसअघि सर्वोच्च अदालतबाटै भएको आफ्नै फैसला सर्वोच्चले फेरी उल्टाउदै सरकारको नाममा ल्याउने आदेश दिएको हो ।
प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशहरु दिपककुमार कार्की एवं सपना प्रधान मल्लको पूर्ण इजलासले तत्कालिन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश चोलेन्द्र शम्सेर राणाको संयुक्त इजलासले प्रेरणाको हक लाग्ने गरी गरेको फैसला उल्टाएपछि उक्त सम्पत्ति सरकारको हुने भएको हो ।
विस २०६३ जेठ ४ गतेको संसदीय घोषणाले दिवंगत राजा वीरेन्द्र र उनका परिवारका नाममा रहेको सम्पत्ति सरकारीकरण गरेको थियो । त्यहि घोषणा अनुसार बनेको नीतिले उक्त जग्गा २०६४ पुस १ गते नेपाल ट्रस्ट मातहत ल्याउने निर्णय गरेको थियो । सरकारले निर्णय गरेलगत्तै उक्त सम्पत्ति २०६३ सालमा दाइजोस्वरूप आफूले पाएको दाबी सहित पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाले सर्वोच्च अदालतमा रिट हालेकी थिइन् ।
तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश चोलेन्द्रप्रसाद राणाको संयुक्त इजलासले सरकारको निर्णय खारेजीको फैसला गर्दै प्रेरणाको नाममा भएको जग्गा उनकै स्वामित्वमा हुने आदेश गरेको थियो । तर उक्त फैसला लगत्तै गत भदौमा सर्वोच्च अदालतले मुद्धाको पूनरावलोकन हुने आदेश गरेको थियो ।