विपक्षीहरुको विशाल शक्ति प्रदर्शन, संशोधन प्रस्ताव तासको पत्ता जस्तै– ओली

काठमाडौ । पुस २२ । संविधान संशोधन प्रस्तावको विरोधमा नेकपा एमालेसहित संसदमा रहेका विपक्षी नौ दलले शुक्रवार राजधानीमा शक्ति प्रदर्शन गरेका छन् ।
एमालेको अगुवाईमा राजधानीको प्रदर्शनी मार्गमा भएको विशाल प्रदर्शनमा दशौं हजार सहभागी थिए ।
शुक्रवार भएको प्रदर्शन काठमाडौमा केही बर्ष यताकै सवैभन्दा ठुलो प्रदर्शन हो ।
एमाले अध्यक्ष केपी ओली सहित शिर्ष नेताहरुको सहभागितामा उपत्यकाका विभिन्न ४० ठाउँबाट निस्केको विशाल जुलस प्रदर्शनी मार्गमा जम्मा भएर सभामा परिणत भएको थियो ।
सभालाई सम्वोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्तावलाई तासको पत्ताको संज्ञा दिँदै राष्ट्रहित र जनचाहाना विपरितको प्रस्ताव संसदबाट पारित हुन नदिने दृढता जनाउनुभयो ।
उहाँले पाँच नम्वर प्रदेश टुक्राउने सपना नदेख्न पनि चेतावनी दिनुभयो ।
तराइ केन्द्रित दलहरुलाई तराइका नाममा राजनीति गर्ने तर तराइका जनताको प्रतिनिधित्व नगर्नेहरु भनेर संकेत गरेका ओलीले राष्ट्रहित विपरित काम गर्न खोज्नेहरुबाट सतर्क हुनुपर्ने बताउनुभयो ।

तिन बर्ष अघि ११ सिट जितेर तराइमा ४० सिट जितेको एमालेलाई तराइबाट विस्थापित गर्छो भनेर सपना नदेख्न चेतावनी समेत दिनुभयो ।
अध्यक्ष ओलीले फागुनको दोश्रो सातादेखि एमालेले मेची महाकाली अभियान सहित तराइमा जान लागेको भन्दै उहाँले तराइका जनताको देशभक्तिलाई कम नआक्न समेत आग्रह गर्नुभयो । ओलीको भनाई थियो– तराइ मधेशको अभियानमा एमालेको शक्तिको फोटो ड्रोनबाट हैन स्टेलाइटबाट खिच्नुपर्नेछ ।
संविधान कार्यान्वयनका लागि तिनबटै तहको निर्वाचन हुनुपर्ने भन्दै ओलीले सरकार नै चुनावको पक्षमा नरहेको आरोप पनि लगाउनुभयो ।
सभालाई सम्वोधन गर्दै नेकपा मालेका महासचिव सिपि मैनालीले सिमांकन सहितको संशोधन प्रस्ताव मान्न नसकिने भन्दै भारतीय इशारा अनुसार प्रस्ताव आएको दावी गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मधेशलाई नेपालबाट अलग्याउने योजना अनुसार प्रस्ताव ल्याइएको आरोप लगाउनुभयो । यस्तै नेमकिपाका प्रेम सुवालले मोर्चालाई सहमतिमा ल्याउन संशोधनको आवश्यक नभएको भन्दै कार्यान्वयनमा जोडदिनुभयो ।
एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा एमाले महासचिव इश्वर पोखरेल र सचिव प्रदिप ज्ञवालीले पनि बोल्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.