काठमाडौ । पुस २५ । जनकपुर बम काण्डको मुख्य अभियुक्तको रुपमा पूर्पक्षका लागि थुनामा रहेका निलम्बित साँसद तथा पूर्व राज्यमन्त्री सञ्जय कुमार साह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आयोगले सोमवार साह विरुद्ध ३१ करोड ५० लाख रुपैंया विगो माग दावी गर्दै पदिय हैसियत दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियार एउटा ब्यक्ति बिरुद्ध यति धेरै विगो माग गरिएको यो पहिलो घटना हो ।
केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गर्नुपूर्व सद्भावना पार्टीमा वरिष्ठ उपाध्यक्ष रहेका साह बिरुद्ध दर्जनौ अपराधका घटनामा मुद्धा चलिरहेको छ ।
आयोगले साह सहित उनका बुवा आमा र भाइ तथा विभिन्न ब्यक्तिको नाम उल्लेख गरेर सम्पत्ति लुकाएको भन्दै अभियोगमा उनीहरुलाइ पनि प्रतिवादी बनाएको छ ।
आयोगले साहको पदीय हैसियत अमिल्दो भन्दै २०६५ सालदेखि २०६९ सालसम्म भौतिक योजना राज्यमन्त्री तथा २०६५ सालदेखि ७० सालसम्म सभासद रहाँदा अकुत सम्पत्ति आर्जन गरेको दाबी गरेको छ ।
अख्तियारको अभियोगपत्रमा सामान्य किसान परिवारका साहसँग धनुषाको जनकपुर, काठमाडौ लगायतका स्थानमा जग्गा, विभिन्न बैठकमा रकम जम्मा गरेको तथा कैयौ कम्पनीमा लगानी गरेको उल्लेख छ ।