नेपाल बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा हामी आइपुगेका छौं – पुर्व राजा ज्ञानेन्द्र शाह

काठमाडौ । पुस २६ ।पुर्व राजा ज्ञानेन्द्र शाहले आफुले दरवार छाडेको एक दशक नवित्दै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडी आएको बताउनुभएको छ ।
पृथ्वी जयन्तीको पुर्व सन्ध्यामा मंगलवार विज्ञप्ति निकालेर पुर्व राजा ज्ञानेन्द्रले देश कसैको क्रिडा स्थल नभएको र हुन दिन पनि नहुने भन्दै भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने प्रयास समेत भइरहेको दावी गर्नुभएको छ ।
‘दशक नवित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं । देश कसैको क्रीडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन भन्ने सोचकासाथ देशभक्त नेपालीहरूले एकतावद्ध भई सद्भाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्दछ भन्ने हाम्रो धारणा रही आएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रिय चासो र एकताका पक्षमा केन्द्रित विज्ञप्तिमा ‘चारवर्ण छत्तीस जातको साझा फुलवारीको रूपमा रहेको यस मुलुकका शान्तिपि्रय जनताबीचको एकता विथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दुर्वल तुल्याउने, भौगोलिक एवं क्षेत्रीय अखण्डतामाथि प्रहार गर्ने कार्यमा जो जसले विषारोपण गरेको भए तापनि तिनले नेपाल र नेपाली विरुद्ध अक्षम्य अपराध गरेका छन् ।’ पनि भनिएको छ ।
विज्ञप्तिमा अगाडी उल्लेख छ ‘नेपाली भनेका जो जहाँ रहे बसे पनि नेपाली नै हुन् । देशमाथि संकट आइपर्दा कसरी एकतावद्ध हुन्छन् भन्ने हामीले उदाहरण बन्नु परेको छ । विश्व समुदाय, समृद्धि प्राप्तिको निमित्त प्रतिस्पर्धा गरिरहँदा हामी भने थप विपन्नतातर्फ अग्रसर हुँदैछौं ।’
विश्वमा राष्ट्रवादी भावनाको जागरण आउँदै गरेको वर्तमान सन्दर्भमा हामी भने राष्ट्रको अस्तित्वमाथि नै आँच पुग्ने व्यवहार प्रस्तुत गर्दैछौं । यस्तो दुःखद र विडम्वनापूर्ण अवस्थाको अन्त्य हुनै पर्दछ ।– पुर्व राजाको विज्ञप्तिमा भनिएको छ ।
आफु तत्कालिन परिस्थितिलाई हेरेर नारायणहिटी राजदरवारबाट बाहिरिएको भन्दै पुर्व राजाले तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं भन्नुभएको छ ।
विज्ञप्तिमा श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको स्मरण पनि छ । श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको संघर्ष, नेतृत्व कौशल, दुरदर्शिता नेपाली जनताको सामुहिक साथ र सेनाको वीरताको परिणामस्वरुप हामी नेपालीलाई प्राप्त यो देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा पर्नु हामी सबै देशभक्त नेपालीका लागि गंभिर चिन्ताको विषय बनेको छ ।– विज्ञप्तिमा भनिएको छ ।
अन्तमा उहाँले ‘राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको वंशजका एक नेपाली हुनुका नाताले नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त र स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्न सबै नेपालीलाई राष्ट्रिय झण्डा मुनि गोलवद्ध हुन आह्वान गर्दछु ।’ भन्नुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.