
काठमाडौ । माघ । १२ । व्यवस्थापिका संसदले निर्वाचन आयोगसम्बन्धी विधेयक र मतदाता नामावलीसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । प्रमुख राजनीतिक दलहरुले स्थानीय तहको चुनाव छ्ट्टै गर्ने भनेर छलफल गरिरहँदा संसदले निर्वाचनसम्बन्धी दुईवटा महत्वपूर्ण विधेयक पारित गरेको हो ।
बुधवारको संसद बैठकले पारित गरेका दुवै विधेयक राष्ट्रपतिले लालमोहर लगाएपछि चुनावको मिति घोषणा गर्न बाटो खुल्नेछ । दुवै विधेयक संसदले पारित गरेर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयन हुनेछन् ।
संसद बैठकमा गृहमन्त्री विमलेन्द्र निधिले विधेयक पारित गरियोस भनेर प्रस्ताव राख्नुभएको थियो । यसअघि दुवै विधेयकलाइ राज्य ब्यवस्था समितिले पारित गरेको थियो ।
निर्वाचन आयोगसम्बन्धी विधेयकमा आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने ब्यवस्था राखिएको छ ।
निर्वाचन आयोगले माघ १५ भित्र कानून बनेमा जेठ पहिलो साता चुनाव गराउन सकिने बताउदै आएको छ । तर दलहरु चुनावका कुरा गरे पनि सहमतिमा पुग्न सकेका छैनन ।