सरकारलाई असहयोग गरेकोले मुख्य सचिवलाई हटाउन लागिएको प्रधानमन्त्रीको खुलासा

काठमाडौ । माघ १९ । प्रधानमन्त्री पुष्पकमल दाहालले कर्मचारी र प्रहरीको नेतृत्वले सरकारलाई असहयोग गरेको आरोप लगाउँदै मुख्य सचिवलाई हटाउने तयारी भैरहेको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार आफ्नै पार्टी निकट नेपाल दलित मुक्ति मोर्चाको ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्री दाहालले कर्मचारी प्रशासनले सरकारलाई सहयोग नगरेकाले मुख्य सचिव सोमलाल सुवेदीलाई हटाउन लागेको खुलासा गर्नुभयो ।
उहाँले केहिदिनभित्रै नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्याल पनि अवधि सकिएर रिटाएर हुन लागेको भन्दै नयाँ नेतृत्वमा नयाँ ब्यक्ति ल्याएर कामलाई चुस्त र दुरुस्त बनाउने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले केही समय अघि भएको काभ्रेकी लक्ष्मी परियारको हत्याको अनुसन्धानमा नेपाल प्रहरीले असहयोग गरेकोले घटनाको अनुसन्धानका लागि अपराध अनुसन्धान ब्युरोलाई निर्देशन दिएको समेत प्रधानमन्त्रीले बताउनुभयो । लक्ष्मी परियारलाइ बोक्सीको आरोपमा गत पुस २० गते जबरजस्ती मलमुत्र खुवाइएको थियो । उनको २४ गते मृत्य भएको थियो । प्रधानमन्त्रीले लक्ष्मी परियार र अजित मिजारको घटनामा संलग्नहरुमाथि कारवाहीका लागि छानविन प्रक्रिया अघि बढेको जानकारी दिँदै पीडितका परिवारलाई उचित क्षतिपूर्ति दिइने बताउनुभयो ।
प्रधानमन्त्रीले सरकार दलित समुदायका समस्या समाधानप्रति कटिवद्ध भएर लागेको पनि दावी गर्नुभयो ।
उहाँले दलित आयोगलाई संबैधानिक मान्यता प्राप्त हुनु ठूलो उपलब्धी भएको बताउँदै दलितहरुको विकास र सम्वृद्धिका पक्षमा कार्य गर्दै आएको उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिलाई अझ सक्रिय पार्ने बताउनुभयो ।
तिलक परिवारको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले लक्ष्मी परियार र अजित मिजारका हत्याराहरुमाथि कारवाही, पीडितलाई क्षतिपूर्ति, दलित विकास समिति खारेज गर्न खोजिएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.