बुटवल । माघ २७ । विभिन्न बाहानामा सरकारले स्थानीय निवार्चन टार्दैछ । सरकार चुनावबाट भाग्न थालेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले आपत्ति जनाएको छ । स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन माथि सुझाव दिन गठित कार्यदल र प्रमुख ५ दलहरुको बिहिवारको बैठकमा सरकारले चुनाव टार्ने प्रष्ट संकेत दिएको छ । सरकारले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन माथि सुझाव दिन गठित कार्यदलले कामको टुगो लगाएर दिएपछि फेरि छलफल दलहरुबीचमा गरेर प्रतिवेदन परिमार्जनका लागि फेरि आयोगमै पठाउने र अनि मात्रै मिति तोक्ने तयारी सुनाएको हो ।
त्यसरी जाने हो भने स्थानीय तहको चुनाव जेठमा सम्भव नै छैन । समय घर्किदैछ तर मिति घोषणा नगरेर प्रतिवदेनलाई कारण देखाउनु चुनाव नगर्ने खेल भएको भन्दै बैठकमा एमालेले चुनावबारे स्पष्ट जवाफ दिन सत्तापक्षसँग माग गरेको थियो । बैठकमा एमाले नेताहरुले बाहानाबाजी नगर्न र चुनावको मिति घोषणा भए सरकारलाई सघाउन तयार रहेको बताएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावका लागि सरकारले गृहकार्य गरिरहेको बताउनुभएको थियो तर मिति तोक्नेबारे चासो देखाउनुभएन ।
माओवादी नेता तथा स्थानीय विकास मन्त्री एवं कार्यदलका संयोजक हितराज पाण्डेले पुनःसंरचना आयोगको प्रतिवेदनमा देखिएका समस्या पहिचान गरी कार्यदलले प्रतिवेदन बुझाएपछि दलहरुबीच थप छलफल हुने र आवश्यक परे असन्तुष्टि सम्बोधनका लागि प्रतिवेदन फेरि आयोगमै पठाउने कुरा भएको बताउनुभयो ।
कार्यदलले यही फागुन १, २ र ३ गते २ नम्वर प्रदेशका सांसदसँग आयोगको प्रतिवेदनमाथिको असन्तुष्टिका विषयमा छलफल गर्ने भएको छ ।