बैशाख ३१ गते स्थानीय तहको निर्वाचन

काठमाडौ । फागुन १० । सरकारले आगामी २०७४ साल बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न मिति तोकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार साँझ तेस्रोपटक बसेको मन्त्रीपरिषदको बैठकले आगामी २०७४ साल बैशाख ३१ गते आइतबारका दिन स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो।
सोमबारको तेस्रो बैठकले बैशाख ३१ गतेका दिन एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगबाट माग भई आएको रु. १० अरब २९ करोड ६३ लाख ७६ हजार ७ सय ७५ अर्थ मन्त्रालयले तत्कालै निर्वाचन आयोगलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रीपरिषदको बैठकपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘आजको दिन नेपालको इतिहासमा ऐतिहासिक दिन हो । आज दिनभर तीन चरणमा मन्त्रीपरिषदको बैठक बस्यौं । बिहानको पहिलो बैठकले मधेशमा जनसंख्याको घनत्वलाई मध्यनजर गर्दै स्थानीय तहको संख्या बढाउने निर्णय गरेको थियो । अहिले बसेको बैठकले स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । सरकार दृढतापूर्वक निर्वाचन सम्पन्न गर्छ । भोलिदेखि संसदबाट संविधान संशोधन प्रस्ताव पनि अघि बढ्छ । अब देश निर्वाचनमा गयो, निर्वाचनको पक्षमा सकारात्मक वातावरण बनाउन म सम्पूर्ण पत्रकार मित्रहरुमा अनुरोध गर्दछु ।’ सरकारको घोषणाको विपक्षी दल एमालेले स्वागत गरेको छ । तर मधेशी मोर्चाले भने विरोध गर्दै आन्दोलनमा जाने बताएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.