बुटवल । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको बन्दका कारण तराईका केही जिल्लाको जनजीवन प्रभावित भएको छ । संविधान संशोधन नगरी निर्वाचनको मिति तोकेको भन्दै मोर्चाले आव्हान गरेको बन्दले मध्य तराईका सबैजसो जिल्लामा जनजिवन प्रभावित भएको छ । तर पुर्व र पश्चिम क्षेत्रमा भने कम प्रभाव परेको छ । बन्दका कारण पूर्वपश्चिम राजमार्ग र सहायक मार्गहरुमा सवारी साधन चलेका छैनन् । तर एम्बुलेन्स र सिटी रिक्साहरु पनि कतैकतै चलेका छन् । बजार, पसलहरु कलकारखाना र शैक्षिक संस्थाहरु पनि बन्द छन् । प्रशासनले बन्दमा कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाएको बताएपनि धनुषामा मोर्चा र एमाले कार्यकर्ताविच झडप भएको छ । एमाले उपाध्यक्ष बामदेव गौतम बसेको घर घेर्न गएका मोर्चाका कार्यकर्ता र एमाले कार्यकर्ताबीच झडप भएको हो ।
यस्तै धनुषामै एमालेका कार्यकर्ताले मधेशी मोर्चाका दुई जना कार्यकर्तालाई कुटपिट गरेको भन्दै मोर्चाका कार्यकर्ताले नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष शितल साहलाई कुटपिट गरेका छन् ।