बैशाख ३१ गते हुने स्थानीय निर्वाचनको महाउत्सवमा जुट्न प्रधानमन्त्री दाहालको अपिल

काठमाडौ । फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सरकार दृढ र प्रतिवद्ध रहेको भन्दै निर्वाचनको महाउत्सवमा जुट्न अपिल गर्नुभएको छ । देशवासीका नाममा मंगलवार विशेष सम्बोधन गर्दै प्रधानमन्त्रि दाहालले राजनीतिक सहमतिका साथ निर्वाचन र संविधान संशोधनसँगसँगै अघि बढाएर मुलुकलाई गतिदिन सरकार लागि परेको पनि जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले अवको स्थानीय निर्वाचन सहित सवै निर्वाचन सफल बनाउन सिंगो देश एकजुट हुनुपर्ने बताउनुभयो ।
मधेश केन्द्रित दलहरुको असन्तुष्टिप्रति संकेत गर्दै प्रधानमन्त्रिले स्थानीय निर्वाचनले मधेशलाई मतपेटिकाबाट आफ्ना असन्तुष्टि जाहेर गर्ने अवसर दिएको र उनीहरुले आवेग हैन विवेक र राष्ट्रप्रति जिम्मेवार भएर निर्वाचनमा जुट्नु पर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले स्वतन्त्र निष्पक्ष र शान्तिपुर्ण निर्वाचनका लागि सरकार कटिवद्ध रहेको र एकमत पनि दायाँबाया नहुने स्पष्ट पार्नुभयो ।
सविधानले दिएको समयसिमा र सर्वोच्च अदालतको आदेशलाई ख्याल गरेर समयभित्र निर्वाचन नगरे लोकतन्त्र र सविधान नै खतरामा पर्ने स्थिति देखिएकोले निर्वाचन र संविधान संशोधनसंगै अघि बढाइएको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।
निर्वाचन सफल पार्न सहयोग गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गर्दै प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचनले जनताको ढोकामै सरकार र विकास पुग्ने युगको प्रारम्भ हुने विश्वास ब्यक्त गर्नुभयो । सम्वोधनका क्रममा आफ्नो सरकारका कामबारे बर्णन गर्दै उहाँले काठमाडौ, पोखरा र चितवनमा लोडसेडिङ अन्त्य भएको र आगामी जेठ मसान्तसम्म देशैभर लोडसेडिङ अन्त्य गरिने जानकारी दिनुभयो । उहाँले राजनीतिक इमान्दारिता र ब्यवस्थापकीय कुशलता भयो भने परिवर्तन सम्भव छ भन्नेकुरा लोडसेडिङ अन्त्यको प्रयासले देखाएको उल्लेख गर्नुभयो ।
सरकारमा आफु परस्पर मागहरुको दवावमा रहेपनि विकास प्रतिको आफ्नो इच्छाशक्ति कमजोर भएको नभएको उहाँले बताउनुभयो । फास्ट ट्याक्ट नेपाल आफैले निर्माण गर्नेगरी काम तिव्र भएको र बर्खा अघि नै ठुलो हिस्सा संचालनमा आउने आश्वासन दिदै प्रधानमन्त्रीले हुलाकी मार्ग निर्माणको काम तिव्र गतिमा अघि बढेको पनि दावी गर्नुभयो ।
भुकम्पपिडितलाई राहत र पुनर्स्थापनामा सरकार गम्भिर रहेको भन्दै प्रधानमन्त्री दाहालले अवका ६ महिनामा मेलम्चीको पानी काठमाडौ आइपुग्ने बताउनुभयो । उहाँले सुकुम्वासी समस्या समाधानका लागि बसोवास आयोग बनाउने प्रकृया अन्तिम चरणमा पुगेको, मुक्त हलिया र मुक्त कमैयाको बसोबासको टुगो लगाउने गरी काम भैरहेको जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.