काठमाडौ । फागुन १९ । नेपालमा लगानी बढाउने उद्धेश्यसहित राजधानीमा नेपाल लगानी सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा दुई सय ५० विदेशीसहित झण्डै १२ सय लगानीकर्ता सहभागी छन् ।
सरकारले कानूनी अप्ठ्यारा भए फुकाइदिने आश्वासन सहित नेपालमा लगानी बढाउन विदेशी लगानीकर्ताहरुलाई आग्रह समेत गरेको छ ।
राजनीतिक नेतृत्वले पनि विकास र लगानीमा कुनै पनि अवरोध नहुने प्रतिबद्धता जनाएका छन् । सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी बढाउन विदेशी लगानीकर्तालाई आग्रह गर्नुभयो । उहाँले कुनै कानुनी अप्ठ्यारा भए फुकाउन सरकार तयार रहेको पनि बताउनुभयो ।
सम्मेलनमा सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक विकास र लगानी विस्तारमा कुनै अवरोध नहुने बताउनुभयो ।
सम्मेलनमा सरकारले नीतिगत व्यवस्थाको जानकारी गराउने र थप लगानी गर्न आग्रह गर्ने तयारी पनि गरेको छ ।