काठमाडौ । फागुन १९ । संविधान संशोधन प्रस्ताव पारित नहुने अवस्था देखेपछि सरकारले संशोधन प्रस्ताव तत्काललाई थाती राख्ने तयारी गरेको छ ।
एमालेको कडा विरोध तथा राप्रपा र फोरम लोकतान्त्रिकको समेत सहयोग नपाउने भएपछि सरकारले पारित नहुने अवस्थामा संशोधन प्रस्ताव अघि नबढाउने सोच बनाएको हो । त्यसको जानकारी मधेशी मोर्चाका नेताहरुलाई समेत प्रधानमन्त्रीले दिइसक्नुभएको छ ।
विहिवार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल आदिवासी जनजाति महासंचघको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले पास नहुने संशोधन अघि बढाउँदा पोल्टामा भएको पनि पोखिन सक्ने धारणा व्यक्त गर्नुभएको हो । अझै पनि सहमति जुटाएर परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित गर्ने पक्षमा आफू रहेको उहाँको भनाइ थियो ।
नेपाल आदिबासी, जनजाति महासंघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘हिजो मैले सरकारमा सहभागी दलका नेताहरुलाई बोलाएर छलफल गरें, राप्रपाका साथीहरुले अहिलेको संशोधन प्रस्तावको पक्षमा मतदान गर्न सक्दैनौं भनेर प्रष्ट भाषामा भन्नुभएको छ, प्रस्ताव मतदानमा गयो भने विपक्षमा मतदान गर्ने उहाँहरुको प्रष्ट कुरा छ । यति कुरा जान्दाजान्दै मतदानमा जाँदा संशोधन प्रस्ताव पारित हुँदैन, फेल हुन्छ । त्यसले समस्या समाधान होइन, झन् बल्झाउँछ, त्यसैले अलिकति समय लिएर निर्णयमा पुग्नु बुद्धिमानी हुन्छ ।’
अहिलेको संविधान मान्दैनौं भन्दा मुलूक उल्टो दिशातिर जानसक्ने खतरा औल्याउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधान जारी गर्ने बेला मेरो पार्टीले पनि आठ बूंदे असहमति दर्ज गरेको छ । तर, अहिलेको संविधान पनि मान्दैनौं भनेर हामी नै यो संविधानको विरुद्ध लाग्दा त्यसको परिणाम के होला ? तपाईहरु सोच्नुहोस्, भुईंको टिप्न खोज्दा पोल्टाको खस्नु हुँदैन । अहिलेको संविधान खारेज भयो भने २०४७ को संविधान आउने खतरा रहन्छ । के तपाई हामीले चाहेको त्यही हो त ? होइन भने अहिले प्राप्त गरेका अधिकारलाई जोगाउँदै अगाडि बढ्नु राम्रो हुन्छ ।’
यसैबीच बिहिवार नै माओवादी केन्द्र र एमालेका नेताहरुबीच स्थानीय निर्वाचन र संविधान संशोधन लगायतका बिषयमा छलफल भएको छ । माओवादीका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ तथा एमाले अध्यक्ष केपी शर्मा ओली र बामदेव गौतम सहभागी छलफलमा मोर्चाको असन्तुष्टी र संविधान संशोधन तथा स्थानीय निर्वाचनबारे दुइ पक्षीय कुराकानी भएको माओवादीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।