काठमाडौं । फागुन २१ । सरकारले २ नम्वर प्रदेशमा १७ र पहाडमा २ गरी १९ वटा संख्या थपेर स्थानीय निकायको संख्या ७ सय ३८ पुर्याउने प्रस्ताव गरेको छ ।
स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदलले प्रदेश नम्बर २ का ८ जिल्लामा १७ र मनाङ तथा बझाङमा एक एक संख्या थप्ने प्रस्ताव सहितको प्रतिवेदन तयार गरेको हो ।
२ नम्वर प्रदेशका सप्तरी र धनुषामा ४–४ वटा र सिरहामा ३, वारामा २, पर्सामा २, धनुषामा १, महोत्तरीमा १ र सर्लाहीमा पनि १ वटा संख्या थप गरिएको छ ।
संख्या थपेपछि २ नम्वर प्रदेशका ८ जिल्लामा स्थानीय तहको संख्या १२३ पुगेको छ । मन्त्री पाण्डेले संख्या थपेर प्रतिवेदन तयार गरिएकोले अव समस्या पनि समाधान हुने बताउनुभयो । केपी ओली नेतृत्वको सरकारका पालामा गठन भएको बालानन्द पौडेल नेतृत्वको आयोगले ७१९ स्थानीय तहको प्रस्ताव गरेको थियो ।
त्यो समितिले २ नम्बर प्रदेशमा १०६ वटा संख्या बनाउने प्रस्ताव गरेर सरकारलाई बुझाएको थियो । उक्त प्रस्ताव प्रति मधेसी मोर्चाले असन्तुष्टि जनाएपछि सरकारले मन्त्री पाण्डेको नेतृत्वमा दिपक बोहोरा र नविन्द्रराज जोशी सदस्य रहेको तीन मन्त्री सम्मिलित कार्यदल बनाएर सुझाव दिन भनेको थियो ।