सप्तरीका प्रजिअसहित सुरक्षा प्रमुखलाई फिर्ता बोलाउने गृह मन्त्रालयको निर्णय

काठमाडौं, फागुन २४ । सप्तरीमा प्रहरी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच झडपका क्रममा भएको मानवीय क्षतिको घटनापछि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई मन्त्रालयमा फिर्ता बोलाएको छ ।
प्रमुख जिल्ला अधिकारी उद्धबप्रसाद तिम्सिना, नेपाल प्रहरीका एसपी दिबेश लोहनी तथा सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्का र नेपाल प्रहरीका डिएसपी दानबहादुर खड्कालाई मन्त्रालयमा बोलाउने निर्णय भएको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।
यसैबीच उपप्रधान एवं गृहमन्त्रीविमलेन्द्र निधिले तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई मंगलवार बिहान प्रहरी मुख्यालय नक्सालमा बोलाएर सप्तरीमा सोमवार भएको मानवीय क्षतिको घटनाबारे जानकारी लिनु भएको छ । त्यसक्रममा गृहमन्त्री निधिले बल प्रयोग नगरी स्थिति सामान्य अबस्थामा फर्काउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनुभएको थियो । करिब डेढघण्टा लामो छलफलमा नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको कार्यबिभाग प्रमुख सहित गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थी लगायतको उपस्थिति रहेको थियो । त्यसक्रममा सुरक्षा निकायका प्रमुखहरुले सोमवारे र मंगलवार विहानदेखि भएका घटनाबारे जानकारी गराउनु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.