बुटवल । फागुन २४ । सप्तरी घटनाको विरोधमा मधेशी मोर्चाले आब्हान गरेको तराईका जिल्ला बन्दको २ नम्वर प्रदेशमा बढी प्रभाव परेको छ । तर पुर्व र पश्चिम तराइमा भने सामान्य प्रभाव छ । मोर्चाका कार्यकर्ताले सोमवार रातिदेखि नै तोडफोड समेत गरेका छन। उनीहरुले एक दर्जन भन्दा बढी सवारी साधन तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रदर्शन हिसंक बन्न सक्ने देखेपछि स्थानीय प्रशासनले राजविराजको केही क्षेत्रमा कर्फ्यु जारी गरेको छ । बन्द आब्हान सहित सडकमा विरोध प्रदर्शन गरेका मोर्चाका कार्यकर्ताले भारदहस्थित सशस्त्र प्रहरीको चेक पोस्टमा आगजनी गरेका छन् । उता राजविराजमा प्रहरी र मोर्चाका कार्यकर्ताबीच मंगलवार पनि झडप भएको छ । प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ताले नगरपालिका, टेलिकम कार्यालय र मानवअधिकार आयोगको गाडी पनि तोडफोड गरेका छन ।
यसैबीच प्रदर्शनमा उत्रेका मधेसी मोर्चाका १३ जना नेता कार्यकर्तालाई प्रहरीले लहानबाट पक्राउ गरेको छ । मधेशी मोर्चाले आह्वान गरेको बन्दको प्रभाव रुपन्देहीमा आंशिक मात्रै परेको छ ।