भारतीय सुरक्षाफौजले गोलीहानेर नेपाली युवकको हत्या गरेको विरोधमा चौतर्फि आक्रोश, स्वतन्त्र राष्ट्रमाथिको हस्तक्षेप कुनै हालतमा मान्य हुन्न– प्रधानमन्त्री

काठमाडौ । फागुन २७ । भारतीय सिमा सुरक्षा बलको गोली प्रहारबाट नेपाली युवकको मृत्यु भएको बिषयलाई लिएर कन्चनपुर लगायत अन्यत्र पनि नेपालीहरुले प्रदर्शन गरेका छन । भारतीय हेपाहा ब्यवहारले बिहिबार बिहान कञ्चनपुरको पुनर्वासमा स्थानीय गोविन्द गौतमलाई गोली हानिएको र उनको उपचारका क्रममा मृत्यु भएपछि देशभर र विदेशमा रहेका नेपालीहरुले समेत तिव्र विरोध गरेका छन । घटनास्थल पुनर्वास नगर क्षेत्रमा प्रदर्शन चर्केपछि फायरिगं समेत भएको छ । संसदमा समेत भारतीय सुरक्षाकर्मिले नेपाली युवालाइ गोली हानेको घटनाको कडा विरोध भएको छ । संसदमा एमाले लगायतका दलले घटनाको विरोध गर्दै छानविन गर्न सरकारसँग माग गरेका छन । भारतीय पक्षले गोली नहानेको दावी गरेकोमा पनि विरोध चर्को छ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल एक स्वतन्त्र र स्वाभिमानी राष्ट्र भएकाले स्वतन्त्र राष्ट्रमाथिको हस्तक्षेप कुनै हालतमा मान्य नहुने बताउनु भएको छ ।
फागुन २६ गते कञ्चनपुरको पूनर्बासमा भारतीय सुरक्षा फौजको आक्रमणमा परी मृत्यु भएका गोविन्द गौतमका पक्षमा ज्ञापनपत्र बुझाउन आएको माओवादी केन्द्रको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले कुनै पनि हस्तक्षेप स्वीकार नहुने बताउनु भएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘कञ्चनपुर घटनामा सरकारले ध्यान दिएन भन्ने प्रचार पूर्णतः गलत हो । घटना घटेलगत्तै भारतीय दूताबासका कर्मचारी बोलाएर मैले घटनाको अनुसन्धान र कार्वाहीका लागि निर्देशन दिएको छु । परराष्ट्र मन्त्रालयले लगातार कुटनीतिक सम्वाद गरिरहेको छ । गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट विज्ञप्ति जारी गरेर घटनाप्रति खेद प्रकट गरिएको छ । आज नै घटनाको विषयमा माननीय गृहमन्त्रीजीले संसदमा सम्बोधन गर्दै हुनुहुन्छ । दोषीलाई कार्वाही गर्न सरकार प्रतिवद्ध छ । नेपाल एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो । हाम्रो स्वाभिमानमाथि हुने कुनै पनि हस्तक्षेप र आक्रमण हामीलाई मान्य छैन ।’
घटनाको बारेमा आफू जानकार रहेको बताउँदै प्रधानमन्त्रीले समस्या समाधानका लागि सरकार निरन्तर लागिरहेको बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘स्थितिको बारेमा मैले लगातार स्थानीय प्रशासन र राजनीतिक दलका नेताहरुसँग कुरा गरिरहेको छु । गोविन्द गौतमलाई शहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढेको छ । परिवारलाई तत्काल १० लाख राहत र गौतमका २ छोरीको शिक्षादीक्षाको व्यवस्था सरकारले गर्ने निर्णय गरिएको छ । घटनाको गम्भीर रुपले छानविन हुन्छ र दोषीमाथि कार्वाही हुन्छ । यसमा सरकार गम्भीर मात्रै होइन, निकै संवेदनशील छ ।’
माओवादी केन्द्र सात नम्वर प्रदेशका ईन्चार्ज लेखराज भट्टद्वारा बुझाएको ज्ञापनपत्रमा गोविन्द गौतमलाई राष्ट्रिय शहिद र सम्मान गर्न, मृतकका परिवारलाई ५० लाख राहतको व्यवस्था गर्न, घाइतेहरुको निशूल्क उपचार गर्न, दोषीहरुमाथि अन्तर्राष्ट्रिय अदालतमा गएर भएपनि सजाय गर्न, गोविन्द गौतमको शालिक स्थापना गर्न, परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग गरिएको छ ।
नेपालीमाथिको गोली प्रहार र भारतीय हस्तक्षेपले घटना चर्किदै र विरोध बढ्दै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोवलले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल लाई टेलिफोन गरी कञ्चनपुर जिल्लाको पुनर्बासमा घटेको घटनामा नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको घटनाप्रति दुख व्यक्त गर्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
सल्लाहकार दोवलले शुक्रबार दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी घटनाप्रति दुख व्यक्त गर्दै शोक सन्तप्त परिवार जनप्रति समवेदना प्रकट गर्नुभएको हो । टेलिफोनका क्रममा दोवलले कञ्चनपुर घटना दुखद भएको बताउँदै घटनाको छानविन प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभएको छ । दोवलले भारत सरकारको छानविन प्रक्रियामा कुटनीतिक सहयोग र समन्वय गर्न एवं मृतकको पोष्टमार्टम रिपोर्ट लगायतका अन्य सम्भव जानकारी उपलब्ध गराउन समेत प्रधानमन्त्रीसँग अनुरोध गर्नुभएको थियो ।
टेलिफोन सम्वादका क्रममा प्रधानमन्त्री प्रचण्डले कञ्चनपुर घटना अत्यन्तै गम्भीर रहेको बताउनु भयो । प्रधानमन्त्रीले दोवललाई कञ्चनपुर घटनाको गम्भीरता र संवेदनशीलताबारे जानकारी गराउँदै भारत सरकारको छानविन प्रक्रियामा नेपाल सरकारको सहयोग रहने बताउनु भयो । टेलिफोनमा प्रधानमन्त्री प्रचण्डले भारत सरकारको छानविनपश्चात् दोषीमाथि ठोस कार्वाही हुने नेपालको अपेक्षा रहेको बताउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.