बुटवल,फागुन २९ । नेकपा एमालेले शान्ति, समृद्धि र संविधान कार्यान्वयनका
लागि जारी मेची–महाकाली अभियानबाट देशद्रोहीहरु थर्कमान हुन थालेको
बताएको छ । अभियानमा देखिएको जनलहर र उत्साहले धेरै किसिमका तत्वहरु
तिल्मिलाएको र त्यहीं मध्येको एउटा तत्व हिंसाको सहारामा निषेधको
अवस्थामा उत्रिएको एमालेको ठहर छ ।
अभियान अन्तर्गत रुपन्देहीको भैरहवामा आएको एमाले नेतृत्वले देश बचाउन र
देश बनाउन आफुहरु दृढ संकल्पित भएर लागेको उल्लेख गर्दै एमालेका विरुद्ध
छरिएका सबै प्रकारका भ्रमहरु समाप्त भएको बताए । अभियान अन्तर्गत आइतबार
भैरहवाको बुद्धचोक नजिकै विशाल सभा भएको थियो । यो सभा अभियान
अन्तर्गतको सबै भन्दा ठूलो रहेको एमालेले बताएको छ ।
सभामा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार
नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल तथा उप–महासचिवहरु
विष्णुप्रसाद पौडेल, घनश्याम भुसाललगायत पदाधिकारी, स्थायी समिति र केन्द्रीय
कमिटीका नेताहरु उपस्थित थिए ।
नेताहरुले मेची–महाकाली अभियान, सप्तरीमा अभियानमाथि भएको हिंसात्मक
आक्रमण, तराईका अरु जिल्लाहरुमा मोर्चाका नाममा आह्वान भएका बन्द–हड्ताल
देखि कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमै आएर गोली प्रहार गरी
नेपालीलाई हत्या गरेका लगायतका विषयमा केन्द्रित रहेर सम्बोधन गरेका थिए ।
मोर्चाका पछिल्ला गतिविध आपराधिक र अराजनीतिक रहेको उनीहरुको भनाइ थियो
। कञ्चनपुरमा भारतीले ज्यादति गरेको उल्लेख गर्दै नेताहरुले भारतले लिखित
रुपमा माफी माग्नुपर्ने र पीडित गौतम परिवारलाई क्षतिपूर्ती उपलव्ध
गराउनुपर्नेमा जोड दिए ।
भैरहवाको विशाल जनसभालाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष तथा पूर्व
प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका विरुद्ध सबैप्रकारका जनविरोधीहरु र
द्रोहीहरु गठजोड गरेर लागेको बताए । उनले कुनै पनि वहानामा देशका विरुद्धमा
लाग्नेहरुलाई छुट नदिइने भन्दै राष्ट्रियता र सामाजिक एकताको अभियानमा सरिक
हुन सबै समुदायलाई आग्रह गरे । अध्यक्ष ओलीले यस्ता गठजोडबाटै सरकार
समेत बनेको र त्यसले नेपाल र नेपालीका लागि भन्दा पनि अन्त कतैको प्रभुका
लागि काम गर्दै आएको बताए ।
‘अहिलेको सरकार नेपाल र नेपालीका लागि होइन, जनताका गुनासाहरु समाधानका
लागि होइन देशलाई नोक्शान पार्ने र प्रभुलाई रिझाउने काममा मात्रै तल्लिन
छ’ अध्यक्ष ओलीले भने–देश र जनताका विरुद्ध जे–जे काम प्रभुले अह्राउँछ त्यहीं
त्यहीं मात्रै गरिरहेको छ ।’
भारतीय सुरक्षकर्मीले कञ्चनपुरमा गोबिन्द गौतमको हत्या गरेको घटना उल्लेख
गर्दै अध्यक्ष ओलीले नेपाल सरकार उक्त हत्या काण्डमा लाचार भएको बताए ।
उनले भने –‘कञ्चनपुरमा नेपालका गाँउ पसेर भारतीय सुरक्षाकर्मी गोली हान्छ,
सरकार बोल्दैन । कतै सुन्नुभएको छ चूँ गरेर बोलेको ? तर सप्तरीमा
नेपालका सुरक्षकर्मीमाथि बम आक्रमण गर्नेलाई यो सरकार केही भन्दैन । उल्टो
आफ्नो देशको सुरक्षा गर्ने प्रहरीलाई कार्वाही गर्छु भन्छ । यो कसको
सरकार हो ?’ वर्तमान सरकारमा चारतिर टाउको फर्केका दललाई मीत लगाइदिएर
गठबन्धन बनाइएको र मीत लगाइदिनेले नै संविधान संशोधन चाहेको अध्यक्ष
ओलीको स्पष्टोक्ति थियो ।
ओलीले अगाडि भने –‘अहिले गर्नु पर्ने चुनाव हो । तर सरकार संशोधन गर्छु
भनेर हिडेको छ । प्रदेश पाँच टुक्रयाउने नियत मीत लगाइदिने कै इसारामा
देखिएको हो । नेकपा एमालेले संशोधन हुन दिँदैन ।’ सम्बोधनको क्रममा
अध्यक्ष ओलीले मधेसी मोर्चाका गतिविधिहरुप्रति टिप्पणी गर्दै भने–बुहारी र
ज्वाइँ भित्राएर स्वाभीमानी नेपालीहरुलाई अपमान गर्न खोज्ने काम भएको छ ।
मधेसी दल नेपालीका प्रतिनिधी हुनै नसक्ने बताउँदै उनले भने–‘संविधान बनाउने
बेला सदन भित्र र बाहिर गरेर खुरुखुरु हस्ताक्षर गरेर भत्ता मात्रै, बुझ्ने,
समितीका सभापति बनेर सरकारी सेवा सुविधाहरु लिने अनि संविधान भने मान्दिन
भन्ने ? यहाँ भन्दा नकचरोको पनि हद हुन्छ नि । ’
मधेसीलाई विभेद गरियो भनेर चिच्याउने मधेसी मोर्चा भनिनेहरुका मागलाई
कदापि स्वीकार्य नहुने बताउँदै ओलीले तराई–मधेशका जनसाधारणका शोषक र
ठगहरुको तथाकथित झुण्ड नै मधेशी मोर्चाका नाममा सक्रिय रहेको बताए ।
उनले आफुहरु लोकतन्त्र, गणतन्त्र र मानवअधिकारका लागि जेल नेलामा पर्दा,
लडाइँ लड्दा यी मोर्चाका नेताहरु कहाँ थिए ? कस्को र कहाँको भत्ता खाएर कुन
दुलामा बसेका थिए ? मोर्चाका नेताहरुप्रति लक्षित गर्दै उनले थपे–‘दुई चार
जना जम्मा गरेर सडकमा ट्वाँ–ट्वाँ गरेर उफ्रिने र नयाँ शक्तिका नाममा भ्रष्ट
बुद्धिजीवीहरु मिलेर बनेको संस्थाले एमाले विरुद्ध विषवमन गर्ने ? हैन कहाँ छन
यीनीहरु ? कुन दुनियाँमा छन यीनीहरु ?’
नेता ओलीले सरकार पनि त्यस्तै भ्रष्ट र जनतामाराका मात्रै कुरा सुन्ने गरेको
दुखेसो पोखे । यस्ता सभामा उपस्थित हाजारौं, लाखौं जनताका कुरा र
सभाको म्यान्डेटलाई नजरअन्दाज गर्ने तर देशद्रोही र भ्रष्टहरुका कुरामा लुरुलुरु
लाग्ने ?’ ओलीको भनाइ थियो । अध्यक्ष ओलीले भने, –‘पछिल्लो समय एउटा
नयाँ शक्ति भन्ने भ्रष्ट बुद्धिजीवीहरुको संस्थाले ‘एमालेमुक्त नेपाल’ भनेछ
उनीहरुलाई कसले बुद्धि दिन्छ ? कहाँबाट सञ्चालित छ यो ? एमाले मजदुरका बीचमा
हुन्छ, राष्ट्रसेवकका बीचमा हुन्छ, सीमान्तीकृतका बीचमा हुन्छ । समग्रमा नेपाली
जहाँ हुन्छ, एमाले त्यहाँ हुन्छ । एमाले बिनाको समाज परिकल्पना पनि गर्न
सकिँदैन ।’
मधेसी मोर्चाको नाममा जनतालाई ठग्ने काम भएको, संविधानमा के छ जनतालाई
नबताउने मधेसी मोर्चाले जनघातीको काम गरिरहेको एमाले नेताहरुको भनाइ
थियो । सभामा अध्यक्ष ओली, उपाध्यक्ष गौतम, केन्द्रीय सदस्य महासेठ, अर्का
नेता दलबहादुर राना तथा आदित्यनारायण कसौधनले सम्बोधन गरेका थिए ।
यसअघि नवलपरासीको भूमहीमा भएको अर्को विशाल सभामा पार्टीका नेताहरु वरिष्ठ
नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, छविलाल विश्वकर्मा तथा सत्यनारायण
मण्डल र तुलसी पासीले सम्बोधन गरेका थिए ।
भैरहवाको विशास सभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष तथा पूर्व
उप–प्रधानमन्त्री वामदेव गौतमले सरकारले देशको हीत, संविधानको रक्षा, समृद्धि
र सद्भावका लागि भन्दा पनि यसैका विरोधमा अपराध मच्चाइरहेकालाई संरक्षण
गर्दै हौसाउने काममा केन्द्रित भएको दाबी गरे ।
पूर्वउप–प्रधान तथा गृहमन्त्री समेत रहेका गौतमले मधेसी मोर्चा जनताको
शोषक, ठग र अपराधीहरुको झुण्ड रहेको उल्लेख गरे । ‘अपराध, हिंसा र
उत्पातको सहारा लिने र एमालेका विरुद्धमा नाङ्गो नाच नाच्ने मधेशी मोर्चाका
नेताहरु नेपाली हुन कि भारतीय ? मैले बुझ्न सकेको छैन ।’ उनले
थपे–‘आशंका छ सप्तरीको घटनामा कतै सरकार पनि संलग्न छ जस्तो छ’ एमालेलाई
तराईमै आउन दिनुहुँदैन भनेर मधेसी मोर्चाको नेता महन्थ ठाकुरले भाषण
गर्ने, अपराधीहरुलाई उक्साउने ? यस्तो भाषण गर्ने हिम्मत कहाँबाट आयो ?
के यो तराई महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवको आमाले पेट
बोकेर जन्माएको थलो हो ?’ यस्ता अपराधीहरुलाई सरकारले तुरुन्तै कानुनको
दायरामा ल्याएर कारवाही गर्नुपर्ने नेता गौतमको भनाइ थियो ।
सप्तरीमा आफ्नो ज्यानको बाजी लगाएर शीर्ष नेताको ज्यान जोगाउने सुरक्षा
अधिकारीलाई एमालेले जनताहरुको तर्फबाट समेत धन्यवाद दिए । त्यहाँका
सुरक्षार्की र अधिकारीहरुले रक्तपात जोगाएकोमा धन्यवाद दिनुपर्नेमा सरकारले
उल्टो कारबाही गरेको भन्दै नेता गौतम आक्रोसित भए ।
सभालाई सम्बोधन गर्दै एमाले ५ नम्बर प्रदेशका सह–संयोजक दलबहादुर रानाले
नेता बन्न रहर गर्ने तर नेतृत्व गर्न नसक्नेहरुले नै देश चलाउँदा अहिले मुलुक
संकटमा फसेको बताए । माओवादी, कांग्रेसको सरकारले आफैले सही गरेर
पास गरेको संविधानको मसी सुक्न नपाउँदै संशोधन प्रस्ताव गरेको छ भन्दै
उनले राप्रपा, विजय गच्छदारलाई सरकारको मन्त्री बनाएर संविधान संशोधन गर्न
थालिनु झनै रहस्यमय भएको बताए । उनले सरकारले तथा कथित मधेसवादी दललाई
उकासेर एमालेको अभियानलाई बिथोल्न खोजेको आरोप समेत लगाए ।
सभामा मधेशी समुदायका अर्का लोकप्रिय नेता तथा एमाले केन्द्रीय सदस्य रघुवीर
महासेठले मधेसी जनतालाई शोषण गर्ने, ठग्ने र अपराधको सहारामा हिंसाका
बलमा सबै दबाएर राख्नेहरु नै मधेशी मोर्चाका नेताहरु रहेको बताए । उनले
नेपाल र नेपालको हित नै नचाहने र देशलाई बर्बाद पार्नेहरु मोर्चामा रहेको
उल्लेख गरे । उनले भने ‘मधेसी मोर्चा बाहिरबाट परिचालित शक्ति हो, अब
यस्तो जनविरोधी मोर्चाका विरुद्ध रैथाने जनताहरु जाग्नुपर्ने बेला आएको छ ।
होइन भने अपराधीहरुको मनोबल बढ्ने छ ।
नेता महासेठले केपी ओली नेतृत्वको सरकारले ल्याएको वजेटको उदाहरण
दिदैं मधेसको हित चाहने वास्तविक पार्टी एमाले मात्र भएको बताए । उनले भने,
‘तराइका हरेक जिल्ला सदरमुकामका लागि ५० करोड वजेट छुट्टयाउने केपी ओली
मधेस विरोधी कसरी हुन सक्छन् ? यदि ओली मधेस विरोधी हुन भने ओली
जत्तिको मधेसप्रेमी नेता अर्को देखाउ ?’
सप्तरीको राजबिराजमा भारतका आपराधिक गिरोह ल्याएर मोर्चाले एमालेमाथि
आक्रमणको प्रयास गरेको उनको दाबी थियो । महासेठले भने, ‘एमालेलाई
अपराधी समूह लगाएर कमजोर बनाउने सपना कसैले नदेखे हुन्छ । हामी २ नम्बर
प्रदेशमा शक्तिशाली उपस्थितिसहित फेरि कार्यक्रम गर्नेछौं ।’
महासेठले पहाडिया समुदायबिनाको मधेस, मधेसबिनाको नेपाल र एमाले बिनाको
सरकारको कल्पना गर्न सकिँदैन भनेर आफूले ०६२ सालमा राजविराजमा दिएको
नारा सार्थक हुँदै आएको पनि तर्क गरे ।
उक्त सभामा एमाले नेता तथा सांसद आदित्यनारायण कसौधनले एमाले मधेसी,
पहाडी र हिमालीको पार्टी भएको जनाउँदै भने “यो भैरहवा मेरो कर्मथलो,
जहाँ बुद्ध जन्मे । यो ठाउँमा एमालेको शीर्ष नेतृत्व आएर सामाजिक सद्भाव र
शान्तिको लागि यति ठूलो सभा सम्पन्न गर्दैछ । यो आफैमा गौरवको कुरा
हो ।
भैरहवाको सभा अहिलेसम्मकै ठूलो
नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियान पाँच नम्बर प्रदेशको भैरहवा
पुगेको छ । नवलपरासीको भूमही हुँदै भैरहवा पुगेको अभियान अहिलेसम्मकै
ठूलो रहेको नेताहरुले बताए । भैरहवाको सभा फागुन २१ गते अभियान सुरु भए
यताकै सबैभन्दा ठूलो भएको एमाले नेता दलबहादुर रानामगरले बताएका छन् ।
उनले एमालेलाई प्रदेश पाँचमा कुनै पनि शक्तिले रोक्न नसक्ने बताए ।
विशाल सभाको अध्यक्षता नेता आदित्यनारायण कसौधनले गरेका थिए भने सञ्चालन
नेता तुलसीप्रसाद चौधरीले गरेका थिए । सभा व्यवस्थित, चुस्त थियो ।
तोकेको समय भन्दा ढिला मात्रै सुरु भएको आमसभामा भाषण भन्दा अघि
सांस्कृतिक टोलीले विभिन्न समुदाय, जातजातिका झाँकी र नृत्यहरु प्रस्तुत
गरेको थियो ।
मेची–महाकाली अभियान भैरहवामा ;जनविरोधीहरु अभियानले थर्कमान –ओली
मोर्चाका नेताहरु नेपाली हुन कि भारतीय ?– वामदेव गौतम अपराधीहरुको समूह हो मोर्चा–मण्डल तराई–मधेशका जनतालाई शोषण गर्ने र ठग्नेहरु नै मोर्चाका नेता हुन–महासेठ