मधेश केन्द्रित दलहरु प्रतिपक्षमा बस्ने घोषणा

काठमाडौ । चैत १ । मधेश केन्द्रित दलहरुले संसद बहिस्कार गर्दै आफुहरु प्रतिपक्षमा बस्ने घोषणा गरे । संसदको बुधवारको बैठकमा मधेशी मोर्चा आवद्ध सांसद महेन्द्र राय यादवले सरकारलाई दिएको समर्थन फिर्ता भएको भन्दै त्यसबारेको पत्र बुधवार नै सभामुखलाई दिने बताउनुभयो ।
उहाँले संविधान संशोधन नभै स्थानीय चुनाव हुन नसक्ने भन्दै मोर्चासँग भएको तिन बुदे सहमति कार्यान्वयन गर्न माग गर्नुभयो ।
यसअघि बुधवार नै मोर्चाका नेताहरु र प्रधानमन्त्री पुष्पकमल दाहाल सहितको सत्तापक्षको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मधेशी मोर्चाका नेताहरुलाई आपसी छलफल र सहमतिका साथ राजनीतिक मुद्धाहरुको सम्बोधनका लागि जुट्न आग्रह गर्नुभएको थियो । आन्दोलनरत मधेशी मोर्चासंग सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्रीले सरकारले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको संबिधान संशोधन प्रस्ताव तत्काल यथाअवस्थामा दुई तिहाईवाट पारित हुने स्थिति नरहेकाले हाललाई सिमाङ्कनको विषय प्रदेश र केन्द्रको चुनाव अगाडि नै आयोगमार्फत् टुंग्याउने गरी अन्य संशोधनका बुँदाहरु परिमार्जनसहित पारित गराउन सहमतिमा आउन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्रीले तत्कालका लागि सिमांकन बाहेकका विषयमा संविधान संसोधन गरी स्थानीय तहको निर्वाचनमा जुट्न मधेशी मोर्चालाई आग्रह गर्नुभएको थियो । छलफलका क्रममा मधेशी मोर्चाका नेताहरुले मोर्चाको बैठक बसेर प्रधानमन्त्रीको प्रस्तावका विषयमा छलफल गरी औपचारिक जवाफ दिने बताउनुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.