बर्दीबास पुगेर बाबुरामले बोले– मेरो डिएनएमा राष्ट्रियता छ

१० चैत, २०७३
बर्दिवास । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कुनै एउटा जाति मात्र नेपाली अरु अनेपाली भन्ने अहंकारवादी सोचले देशमा विखण्डनको बिउ रोपेको बताउनु भएको छ ।
राष्ट्रिय एकताको लागि हिमाल, पहाड, तराई/मधेस राष्ट्रिय अभियान लिएर विहीबार मधेस पुग्नुभएका उहाँले उक्त कुरा बताउनुभएको हो । आफूलाई राष्ट्रघाती भन्नेहरुप्रति आक्रोश पोख्दै प्रश्न गर्नुभयो, ‘यो देश मेरा बाउबाजेले बनाएको हो, म राष्ट्रवादी हुँ, मेरो रगतमा, मेरो डिएनएमा राष्ट्रियता छ, म यो देशलाई बचाएर एकताबद्ध बनाएर राख्छु ।’ उहाँले अगाडि थप्नुभयो, ‘म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु । तर, मलाई राष्टघाती भन्नेहरुको डिएनए टेष्ट गर । तिमीहरुको राष्ट्रियता के हो ?’
नेपालको निर्माणमा मधेशी समुदायहरुको योगदानको चर्चा गर्दै उहाँले सीता, गौतमबुद्ध सबैलाई नेपाली भनेर गर्व गर्ने समुदायले मधेशमा बस्ने मधेशीलाई गैरनेपाली देख्नु नै गलत भएको बताउँदै सबै समुदायलाई एकताबद्ध गराउने सूत्र भनेको संघीयताको उचित प्रबन्ध नै भएको स्पष्ट पार्नुभयो ।
संयोजक भट्टराईले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लोकतन्त्र सबैलाई विदेशीले ल्याइदिएको भन्नेहरुप्रति प्रतिप्रश्न गर्दै अग्रगामी कुराजति विदेशीको र पछाडि परेका कुराहरु चाहिं स्वदेशी भनेर दिल दिमाग भुट्ने गरेको धारणा राख्नुभयो ।
‘संघीयता भनेको एउटै घरमा दाजुभाइहरुलाई फरकफरक कोठा दिनुजस्तो मात्र हो, के यसो गर्दा घर टुक्रिन्छ ? घरमा अशान्ति हुन्छ ?’ उहाँले प्रश्न गर्नुभयो । उहाँले केही बेइमान र ठगहरुले इतिहासलाई बंग्याएर उपलब्धिलाई न्यूनीकरण गरेर भ्रम सिर्जना गरेको बताउनुभयो । उहाँले नेपाल सबै समुदायहरु रहेकाले सबैको साझा चित्र नै नेपाल रहेको र त्यसलाई व्यवस्थापन गर्नु नै अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
संविधान आधा गिलास खाली र आधा गिलास भरी छ भनेर आफूले संविधानमा भएको अपूर्णतालाई औंल्याएको बताउँदै संविधानलाई पूर्णता दिन आफू निरन्तर संघर्षरत रहेको बताउनुभयो । संविधान संशोधनलाई त्यत्तिकै छाडेर चुनावतिर लैजान सरकारले योजना बनाइरहेको बताउँदै भन्नुभयो, ‘मैले प्रचण्डलाई ३० वर्ष झेलेको छु । उहाँ बिहानदेखि बेलुकासम्म कुरा फेर्नु हुन्छ । उहाँ एउटसँग लभ गर्नुहुन्छ र अर्कोसँग विवाह गर्नुहुन्छ तर, मैले जोसँग लभ गरेँ, उसैसँग बिहे गरेँ ।
उहाँले प्रचण्डसँग प्रश्न गर्दै भन्नुभयो, ‘सत्ताको कुर्सी पाएपछि हिजो माओवादीमा हुँदा गरेको प्रतिवद्धता बिर्सन मिल्छ ?’
समुदायलाई लडाएर राजनीतिक रोटी सेक्ने दाउ
सहसंयोजक रामचन्द्र झाले संविधान जारी भएसँगै मधेशी जनताको आन्दोलनमा पूर्णता दिनका लागि डा. बाबुराम भट्टराई जनकपुर आएको प्रसंग उल्लेख गर्दै उहाँले नयाँ शक्तिले तराई मधेशको विकास र जनताको अधिकारको अवस्था बुझ्दै मधेशयात्रा गरेको बताउनुभयो ।
उहाँले एमालेले गलत सन्देश फैलाइरहेको बताउँदै लगाउँदै जनताको भावनाको विपरित कार्यक्रमहरु गरेर जनताले बलिदान दिनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले मधेशी जनता खस आर्यविरोधी नभएको टिप्पणी गर्दै यदि शासक वर्गले अहंकार प्रदर्शन गर्दै गयो भने मधेशी जनता विरोधमा उत्रिनु स्वभाविक रहेको बताउनुभयो ।
देशमा सामुदायिक लडाईं भयो भने राजनीतिक रोटी सेकेर खान पाइन्छ भन्ने यदि कसैले सोचेको छ भने त्यो दुर्भाग्यपूर्ण हुने चेतावनी दिंदै नेता झाले भन्नुभयो, ‘अहिले राष्टिय एकताका लागि सबै समुदायबीच एकता भाव पैदा गर्नु आवश्यक छ ।‘
पुराना दलहरुले जनताको आँखामा छारो हाले
नाथुप्रसाद चौधरीले सभालाई सम्बोधन गर्दै २०७२ सालको संविधानले विविधतामा एकतालाई खल्बल्याउने दुष्प्रयास गरेको बताउँदै नयाँ शक्ति पार्टीले त्यो खल्बलिएको एकता जोड्न तराई मधेश हिमाल पहाडलाई समेट्दै राष्टिय एकता मजबुद बनाउने अभियान संचालन गरेको बताउनुभयो ।
पुराना दलहरु थाकिसकेको अवस्थामा नयाँ शक्तिको जन्म भएको बताउँदै उहाँले नयाँ शक्ति वैकल्पिक राजनीतिक धारसहित उदाएको बताउनुभयो । उहाँले पुराना दलहरुले जनतालाई आँखामा छारो हालिरहेको बताउँदै सीमांकनको संशोधन नहुँदासम्म संविधान संशोधन हुन नसक्ने संविधान संशोधन नभए भयावहा अवस्था सिर्जना हुनसक्ने चेतावनी दिनुभयो । नेता चौधरीले नयाँ शक्तिले सम्पूर्ण नेपालीहरुको भावना प्रतिविम्बित गर्नेगरी कार्यक्रम अगाडि सारेको बताउँदै नयाँ शक्तिले जनताको समस्या समाधान गर्न लागिपरेको बताउनुभयो ।
बुलेटको जवाफ ब्यालेटले दिने समय आयो
कार्यक्रममा नेता डा. प्रवीण मिश्रले डा. बाबुराम भट्टराईले सबैलाई समान व्यहार हुनुपर्छ भन्ने कुरा पुराना दलहरुले नमान्दा अहिलेको अवस्था आएको धारणा राख्नुभयो । उहाँले अगाडि भन्नुभयो, ‘मधेशी जनता, जनजातिको पक्षमा संविधानसभा छाडेर हामीसामु आउनुभएको छ, यो उहाँको ठूलो त्याग हो । उहाँ नेता मात्र होइन महान् राजनेता हुनुभएको छ ।’ उहाँले अब बुलेटको जवाफ ब्यालेटबाट दिने बेला आएको बताउनुभयो ।
मधेशमा हत्या मच्चाएर चुनाव नगराउनको लागि षड्यन्त्र भइरहेको बताउँदै जनताले अब त्यस्तो षड्यन्त्रलाई परास्त गर्ने बताउनुभयो । उहाँले देशलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने आवश्यकता औंल्याउँदै यसका लागि नयाँ शक्तिले अगाडि सारेको क्लस्टरको अवधारणाले समावेशीपूर्ण आर्थिक विकास सम्भव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मौका दिनुहोस् हामी सेवक भएर उहाँहरुको सेवा गर्न चाहन्छौं ।’
चुहिने छातामा ओत लाग्न सकिँदैन
संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले पुराना पार्टीहरुलाई चुहिने छाताको संज्ञा दिंदै त्यस्तो चुहिने छातामुनि ओत लाग्दा रुझिने बताउनुभएको छ । उहाँले नयाँ शक्ति पार्टी बन्न सक्दैन भन्नेहरुप्रति कटाक्ष गर्दै पार्टी बनिसकेको र अब बुलेट टे्रनको गतिमा अघि बढ्ने बताउनुभयो ।
उहाँले नेपालीहरुको राष्ट्रिय एकता मजबुद बनाउन एमालेले सिर्जना गरेको घाउलाई मलमपट्टी गर्न आफूहरु एकता अभियानमा हिंडेको बताउनुभयो । नयाँ शक्तिले हिमाल, पहाड र मधेशलाई विखण्डित गर्न चाहने, नेपाली समाजलाई टुक्राटुक्रा गर्न चाहने शक्तिहरुका विरुद्ध खबरदारी गर्नका लागि यो अभियान लिएर आएको बताउनुभयो ।
उहाँले चुनौति दिँदै भन्नुभयो, ‘विखण्डनका विरुद्ध हामी मधेशमा मात्र होइन, सिंहदरबारमा सरकारलाई घुँडा टेकाउने आन्दोलन गर्नेछौं ।’
पानी धमिल्याएर माछा मार्ने षड्यन्त्र
कार्यक्रममा डा. रामकेवल शाहले सभालाई सम्बोधन गर्दै देशलाई सत्ताधारी दलहरुले विखण्डनको अवस्थातिर धकेलिरहेको बताउँदै अहिले राष्ट्रिय एकता र भाइचाराको खाँचो भएको बताउनुभयो ।
उहाँले मधेश जहिल्यै सिंगो राष्टको पक्षमा रहेको बताउँदै पानी धमिल्याएर माछा मार्ने, द्वन्द फैलाउने षड्यन्त्र चिर्नका लागि नयाँ शक्तिले राष्ट्रिय अभियान सुरु गरेको बताउनुभयो ।
नेता राम कुमार शर्माले डा. बाबुराम भट्टराईले मधेशी, थारु, आदिवासी, जनजातिको हकका लागि संविधानमा धेरै संघर्ष गरेको तर, पुराना दलहरुले असहयोगका कारण त्यो संभव नभएकोले उहाँले संविधानसभा र पार्टी छाडेर जनताको संघर्षमा साथ दिन तराई मधेशमा झर्नुभएको बताउँदै नयाँ शक्ति सबैलाई समान अधिकार दिने पक्षमा रहेको बताउनुभयो ।
प्रदेश नं. ३ का संयोजक गंगा नारायण श्रेष्ठले मधेशमा आउँदा साँच्चिकै नेपालमा आएको अनुभूति भएको, घरमा आएको अनुभूति भएको बताउनुभयो ।
देश दुईथरी चपेटोमा परेको बताउँदै एउटाको नेतृत्व केपी ओलीले गरेको र अर्को पृथकतावादको नेतृत्व सीके राउतले गरेको बताउँदै नयाँ शक्ति यी दुई अतिवादकाबीच चट्टान झैं उभिने बताउनुभयो ।
संविधान संशोधनमार्फत सबै समुदाय, जाति, भाषा, धर्म र सम्प्रदायले भागलिने परिस्थितिको सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । मधेशमा छालाको रंग हेरेर विहारी भन्नेहरुको विरुद्ध आफूहरु लड्ने बताउनुभयो ।
सभालाई कार्यकारी सदस्य मनु हुमागार्ईं, महेन्द्र पासवान, कलामुद्दीन राइन, हेमन्त सुवेदीलगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा नयाँ शक्ति पार्टी निकट सांस्कृतिक संगठन समृद्धि सांस्कृति समूहले सांगीतिक प्रस्तुति दिएको थियो भने स्थानीय थारु तथा मधेशी महिलाहरुले पनि स्थानीय संस्कृति झल्कन गीत, संगीत तथा सामुहिक नृत्यहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्थानीय जनताको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमबाट विभिन्न पार्टी परित्याग गरी नयाँ शक्तिमा करिब १०० जना स्थानीय नेता कार्यकर्ताहरु नयाँ शक्तिमा प्रवेश गरेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.