चैत्र १७, काठमाडौं ।निर्वाचन आयोगले २ नम्वर प्रदेशमा चुनावको काम अघि बढाउन समस्या देखिएको भन्दै त्यसका लागि वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र निर्वाचन आयोगका पदाधिकारीबीच विहिवार भएको भेटमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवसहित २ नम्वर प्रदेशमा काम अघि बढाउन देखिएका समस्याबारे गम्भिर हुन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो । प्रधामन्त्री कार्यालयले भने भेटमा आयुक्तहरुले निर्वाचनको तयारीवारे बिफ्रिङ गर्नुभएको र निर्वाचन आयोगले बैशाख ३१ गते देशका ७४४ वटै स्थानीय तहमा निर्वाचन सम्पन्न गर्ने गरी सबै आवश्यक तयारी गरिसकेको जानकारी दिनुभएको जनाएको छ ।
प्रधानमन्त्रीले गम्भीरताका साथ आयोग निर्वाचनको तयारीमा जुटेकोमा धन्यवाद व्यक्त गर्दै निर्वाचनको माहौल बनाउन सरकार लागिपरेको र जनस्तरमा निर्वाचनको माहौल बनिसकेको बताउनु भयो । प्रधानमन्त्रीले संविधानप्रति असन्तुष्ट राजनीतिक दललाई समेत दुई तीन दिनभित्रै सहमतिमा ल्याउने गरी आफूले पहल गरिरहेको बताउँदै अब निर्वाचन सिंगो मुलुक एक ढिक्का भएर निर्वाचन सफल पार्न लाग्नु पर्ने बताउनुभएको पनि प्रधानमन्त्री कार्यालयले जनाएको छ ।