काठमाडौ । चैत १८। सर्वोच्च अदालतले नेपाल र भारतबीचको खुला सिमा व्यवस्थापन गर्न सरकारले गरेका पहलबारे १५ दिनभित्र लिखित जवाफ पठाउन आदेश दिएको छ ।
न्यायाधीश आनन्द मोहन भट्टराई एकल इजलासले सिमा व्यवस्थापनमा भएगरेका काम सहितको लिखित जवाफ मागेको हो ।
गत फागुन २६ गते कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागेर गोविन्द गौतमको मृत्यु भएको र नेपाल भारतबीच भएका सन्धि सम्झौता पुनरावलोकन नभएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।
यसैबीच व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार उपसमितिले पुनर्वास घटनाको स्थलगत अध्ययन गरि भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली नागरिक गोविन्द गौतम मृत्यु भएको ठहर गरेको छ ।
समितिको शुक्रवार बसेको बैठकमा प्रतिवेदन बुझाउँदै उपसमितिले नेपालीलाई गोली प्रहार गरेर भारतीय पक्षले घटनास्थलको सबै प्रमाण नष्ट गर्ने प्रयास गरेको पनि जनाएको छ ।
बैठकमा आफ्ना धारणा राख्दै सांसदहरुले भारतीय हेपाहा ब्यवहारले नेपालीमाथि आक्रमण बढेको भन्दै कन्चनपुर घटनामा भारतलाई माफी मगाउनुपर्ने माग गरेका थिए ।