एक व्यक्तिलाई एक तहको निर्वाचनमा मात्र उम्मेदवार बन्न दिने एमालेको निर्णय

काठमाडौ । चैत २१ । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा उठ्ने उम्मेदवारलाई प्रदेश र केन्द्रीय संसदको उम्मेदवार नवनाउने निर्णय गरेको छ । सोमवार बसेको एमाले स्थायी कमिटीको बैठकले वर्तमान संविधानअनुरुप हुन गइरहेको तीन तह -स्थानीय तह, प्रदेश सभा र केन्द्रीय संसद् को निर्वाचनमध्ये एक व्यक्तिले एक तहको निर्वाचनमा मात्र उम्मेदवार बन्न पाउने निर्णय गरेको हो ।
२०७४ वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचन घोषणापत्र मस्यौदा गर्न उपाध्यक्ष कमरेड वामदेव गौतमको संयोजकत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति निर्माण गरेको छ । उक्त समितिमा अष्टलक्ष्मी शाक्य, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, डा. पुष्प कँडेल, लालबाबु पण्डित, बिन्दा पाण्डे, रवीन्द्र अधिकारी, रघुवीर महासेठ र लालबाबु यादव सदस्य रहनुभएको छ ।
त्यसैगरी बैठकले महासचिव कमरेड ईश्वर पोखरेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समिति गठन गरेको छ । उक्त समितिमा कमरेडहरु पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, योगेश भट्टराई, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त, भानुभक्त ढकाल, अग्नि खरेल, वंशीधर मिश्र, राधा ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ र रामकुमारी झाँक्री सदस्य रहनुभएको छ ।
बैठकले यसअघि नै निर्णय गरेअनुरुप उम्मेदवारको सिफारिस पठाउनका लागि वडा कमिटीहरुले यही चैत ३० गतेसम्म, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीहरुले २०७४ वैशाख ४ गतेसम्म, जिल्ला कमिटीहरुले ०७४ वैशाख ७ गतेसम्म र प्रदेश कमिटीहरुले ०७४ वैशाख १० गतेसम्म उम्मेदवारको सिफारिस तथा निर्णय गरिसक्नुपर्नेछ । पार्टी स्थायी समितिले ०७४ वैशाख १२ गते बैठक बसी उम्मेद्वारका सन्दर्भमा केन्द्रबाट गर्नुपर्ने निर्णय गर्नेछ ।
बैठकले ०७४ वैशाख ३१ गते हुने निर्वाचनमा नेकपा -एमाले)लाई विजयी बनाउन पार्टीका केन्द्रीय सदस्यहरु, केन्द्रीय निकाय तथा विभागका सदस्यहरु, सांसदहरुका साथै जनसंगठनका केन्द्रीय नेताहरुलाई सम्बन्धित प्रदेश समन्वय कमिटीसँग समन्वय गरी आ-आफ्नो स्थानीय तह रहेको क्षेत्रमा तत्कालदेखि नै क्रियाशील हुन निर्देशन गरेको छ ।
स्थानीय निर्वाचनको सम्पूर्ण तयारीको लागि केन्द्रीय कमिटीको बैठक २०७४ वैशाख ३ गते आयोजना गर्ने निर्णय गरिएको एमालेले जनाएको छ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.