काठमाडौ । बैशाख ११ । सरकारले व्यवस्थापिका संसदमा संविधान संशोधनको नयाँ प्रस्ताव टेवुल गरेको छ । सोमवार बसेको संसद बैठकमा कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधनको नयाँ विधेयक पेस गर्नुभएको हो । संविधान सर्वस्वीकार्य बनाउन र निर्वाचन सुनिश्चित गर्न नयाँ संशोधन विधेयक ल्याइएकोले पारित गर्न उहाँले आग्रह पनि गर्नुभयो ।
प्रदेश सीमांकन हेरफेरको प्रस्तावसहित गत मंसिरमा दर्ता भएको विधेयक फिर्ता लिएर सरकारले गत चैत २९ गते नयाँ संशोधन विधेयक दर्ता गरेको थियो । त्यसलगत्तै सरकार र मोर्चाबीच फास्ट ट्रयाकबाट संविधान संशोधन गर्ने सहमति भएको थियो ।
नयाँ संशोधन विधेयकमा प्रदेश सभा नबन्दासम्म त्यसको अधिकार ब्यवस्थापिका संसदले प्रयोग गर्ने, भाषा आयोगले सिफारिस गरेका भाषालाई संविधानको अनुसूचीमा राख्ने र गाउँ तथा नगरपालिकाको अधिकार कटौती गर्ने लगायतका ब्यवस्था राखिएको छ ।
तर प्रमुख प्रतिपक्षी एमालेले भने सरकारले चुनाव हुन नदिने खेल खेलेर पहिलेको भन्दा खतरनाक ढंगले संविधान संशोधनको प्रस्ताव ल्याएको भन्दै असफल बनाउने निर्णय गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमवार बसेको स्थायी समिति बैठकले जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकोले जेठ ३१ मा दोस्रो चरणको चुनाव हुन नसक्ने ठहर सहित एकै चरणमा वैशाख ३१ गते स्थानीय चुनाव गराउनुपर्नेमा जोड दिएको हो । बैठकले स्थानीय तहको अधिकार कटौती गर्ने संशोधन प्रस्ताव आएमा असफल पार्ने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
उता ब्यवस्थापिका संसदमा बिषेश समय लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई द्वन्दमा धकेल्ने षडयन्त्र स्वरुप संशोधनको नयाँ प्रस्ताव आएको आरोप लगाउनुभयो ।
छलफल र सहमतिबाट संविधान संशोधन गरेर मुलुकलाई निकास दिन एमाले तयार रहेको तर दुइ चरणका बाहानामा जेठ १५ को बजेटपछि चुनाव गर्ने प्रस्ताव मान्य नहुने ओलीको भनाई थियो । उहाँले सरकारले संविधान संशोधनका नाममा चितवनमा केही बर्ष अघि ध्रुवे हात्तीले जस्तै आतंक मच्चाएको आरोप पनि लगाउनुभयो ।
उहाँले बाहालवाला डिआइजीलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रको उपहास गरेको र जनतालाइ सहजतापुर्वक बाच्न नदिएको टिप्पणी समेत गर्नुभयो ।