बैशाख १४, काठमाडौं । स्थानीय तहको संख्या नथप्न नेकपा एमालेसँग सहमति गरेको २४ घण्टा बित्न नपाउँदै प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय गठबन्धनका नेताहरुसँग संख्या थपेरै चुनाव गर्ने बताउनुभएको छ । विहिवार विहान बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री दाहालले स्थानीय तहको संख्या थपेरै चुनाव गर्ने आश्वासन मधेश केन्द्रीत दलका नेताहरुलाई दिनुभएको हो । बैठकपछि राजपा नेपालका नेता राजेन्द्र महोतोले प्रधानमन्त्रीले संख्या थप गरेर स्थानीय तहको चुनाव गर्ने आश्वासन दिनुभएको बताउनुभयो ।
प्रधानमन्त्रीले संसद सञ्चालन र संविधान संशोधन विद्येयकका बारेमा छलफल गर्न गठबन्धनका नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाउनु भएको हो ।
छलफलमा संविधान संशोधन विद्येयकलाई द्रुत मार्गबाट पारित गर्ने विषयमा कुराकानी भएको थियो । बैठकले शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको बैठक बोलाउने निर्णय गरेको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री कमल थापा, माओवादी केन्द्रका नेता वर्षामान पुन र गठबन्धनका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।
तर बुधवार मात्रै एमालेसँग स्थानीय तहको संख्या नबढाउने सहमति गरेर संसद सुचारु भएको थियो । बुधवार नै संसदले संविधान संशोधन विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत समेत गरेको थियो ।